सिंगारियो थाहानगरको शिखरकोट, कृष्ण जात्रामा यस्ता छन् आकर्षण !

पालिका डायरी
९ भाद्र २०८१, ११:१७
सिंगारियो थाहानगरको शिखरकोट, कृष्ण जात्रामा यस्ता छन् आकर्षण !

श्रीकृष्णजन्माष्टमीको अवसरमा मकवानपुरकाे थाहा नगरपालिकामा खाना महोत्सव, लाइभ दोहोरी र घैटो फुटाउने प्रतियोगिताले आन्तरिक माहोल तात्दै गएको छ । पर्यटकीय तथा सांस्कृतिक नगरी थाहामा इन्द्रायणी र बज्रवाराहीमाइको जात्रापछि सबैभन्दा बढी भीड लाग्ने शिखरकोटको कृष्णजात्रामा नै हुने गरेको अनुमान गरिएको छ । जात्राको अवसरमा यसपालि घैटो फुटाउने प्रतियोगिता तथा लिटिल राधाकृष्ण प्रतियोगिता र लिटिल लाखे प्रतियोगितासहित यसवर्ष लाइभ लोकदोहोरी र खाना महोत्सव आयोजना हुने आयोजक मध्येको शिखर क्लबका अध्यक्ष विश्व अर्यालले जानकारी दिए ।

हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट थाहानगरको मुख्य बजार शिखरकोटमा घैटो फुटाउने प्रतियोगिता आयोजना हुँदै आएको छ । जन्माष्टमीको दिन लिटिल राधाकृष्ण र लिटिल लाखे प्रतियोगिता हुने गर्दछ । वि.सं. २०५४ सालदेखि निरन्तर रुपमा शिखरकोट बजार व्यवस्थापन समिति र शिखर क्लबको आयोजना तथा गोपाली गाउँको नेवारी संस्कृतिको साँस्कृतिक सहयोगमा आयोजना हुँदै आइरहेको २४ औं घंटो फुटाउने जात्रा सम्पन्न गर्न थाहा नगरपालिकासहित ८ वटा संस्था जुटेका छन् ।

यस वर्ष घैटो फुटाउनेसँगै अन्य विविध कार्यक्रमहरु बाल राधाकृष्ण प्रतियोगिता, बाललाखे नाच प्रतियोगिता, तामाङ समुदायको ढ्या‌ङ्ग्रो नाच प्रदर्शनी, गोपाली गाउँ, ओखरबजार तथा पालुङको धिमे बाजासहित लाखे नाच समेत प्रदर्शन गरिने भएको छ । महिला पञ्चेबाजा र महिला खेंचेडी भजनसहित खाना महोत्सवसहित लाइभ लोकदोहोरी सांस्कृतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ । लाइभ दोहोरीमा कलाकारहरु अजित लोप्चन, प्रिति घर्तीमगर, शितल कल्पना, दीपराज खत्री, सुनिल नेपाल, विश्वराज अधिकारी र रुपचन्द्र सापकोटा रहने आयोजकले जनाएको छ । १० र ११ भाद्रमै थाहानगरको पर्यटकीय क्षेत्रको फोटोहरु समेत शिखरकोट स्थित फल्चा परिसरमा प्रदर्शनी गरिने भएको छ ।

भदौ १० गते कृष्ण मन्दिरमा पूजाआजासहित लिटल राधाकृष्ण प्रतियोगितासहित लिटल लाखे, धिमे बाजा र तामाङ ढ्याङग्रो झाँकीसहित महिला पञ्चेबाजा र खैजेडी भजन प्रदर्शनी हुनेछ । १० भदौको ३ बजेपछि लाइभ दोहोरी र खाना महोत्सव हुने आयोजकले जनाएको छ भने भादौ ११ गते साँस्कृतिक कार्यक्रमसहित दिउँस १ बजेबाट घैटो फुटाउने प्रतियोगिता हुनेछ । त्यसपछि श्रीकृष्णको रथयात्रा प्रारम्भ भएर जात्रा समापन गरिने बजार व्यवस्थापन समिति अध्यक्ष मनोज रायमाझीले जानकारी दिए । रायमाझीका अनुसार लिटल राधाकृष्ण प्रतियोगितामा नाम दर्ता गर्न कुनै शुल्क लगाइएको छैन ।

मेलाको थाहा नगरपालिका, बजार व्यवस्थापन समिति शिखरकोट, शिखर क्लब, गोपाली समाज, नवजागृत पुस्तकालय, फरकसोच, दामन चेली समाज र ब्याडमिन्टन संघ थाहा नगरपालिका आयोजक रहेका छन् । मेलाको मुख्य प्रायोजक यति ब्रुअरी र अर्ना रहेको छ । मेलालाई प्रचारप्रसारमा विशेष सहयोग गर्नका लागि अफिसियल मिडियाहरु समेत तोकिएका छन् । पालिका प्रेस डटकम, थाहापाटी, थाहा टाइम्स, रेडियो दामन, सत्मार्ग मिडिया र टिम टेलिभिजन मेलाका अफिसियल मिडिया हुन् । बिगतका वर्षमा भन्दा यो वर्ष बिशेष चहलपहल हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया