गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको छः मन्त्री श्रेष्ठ
हेटौंडा / बागमती प्रदेशका खानेपानी उर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठले गाउँ भन्दा शहरको सहकारीमा वित्तीय संकट आएको बताउनुभएको छ ।
मकवानपुरगढी–३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको २५ औं रजत महोत्सवको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री श्रेष्ठले सहकारीमा बसेर आफैं ऋण लिएर नतिर्ने प्रवृत्ति देखिएको बताउँदै सरकारले नियमित नियमन गर्नुपर्ने बताउनुभयो ।
ग्रामीण भेगमा रहेर २५ वर्षअघि जुन उत्साहले सहकारी खोल्नुभयो जागरणले आजको दिनमा आइपुग्दा आफ्नो स्वर्णिम अवधि पार गरेकोमा बधाई दिनुभयो । मन्त्री श्रेष्ठले अहिलेको समय यो वर्षको बजेट कार्यान्वयन र नयाँ बजेट बनाउने चरणमा रहेको बताउँदै आगामी बजेट कार्यान्वयन हुने खालको बनाउने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटा, राष्ट्रिय सहकारी संघका अध्यक्ष बद्री लम्साल, बागमती प्रदेश सहकारी संस्था लिका अध्यक्ष उद्धव सापकोटा लगायतले शुभकामना व्यक्त गर्नुभयो । जागरण साकोसका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाले स्मारिका समेत विमोचन गरेको थियो । रजत जयन्तीको अवसरमा संस्थाले सहकारी स्थापनाको समयका संस्थापक सदस्यहरुलाई सम्मान समेत गरेको थियो ।



