अध्यक्ष लामा द्वारा लटारम्बेश्वर मन्दिरमा खानेपानी र बत्तिको उद्घाटन
हेटौंडा / भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा रहेकाे लटारम्बेश्वर मन्दिरमा बाटो, बत्ती र खानेपानी पुर्याउने काम गाउँपालिकाको अध्यक्ष हिदम लामाको विशेष पहल पुरा भएको छ। उक्त लटारम्बेश्वर मन्दिरमा आजै देखि खानेपानी र बत्तिको सुविधा पुगेको छ। आज गाउँ पालिका अध्यक्ष हिदम लामा लटारम्बेश्वर मन्दिर पुगेर खानेपानी र बत्तिको उद्घाटन गरेका हुन ।
कार्यक्रमको प्रमुख अतिथि सम्म रहेका अध्यक्ष लामाले लटारम्बेश्वर मन्दिरलाई गाउँ पालिकाको विशेष पर्यटनको हब बनाउन आफू सधैँ लागिरहने जानकारी गराए । खानेपानीको सुविधा नहुँदा मन्दिर पुग्ने तीर्थालु भक्तजनहरुलाई समस्या हुने गरेकोमा अब भने उक्त समस्याको समाधान भएको छ ।
मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकामा अवस्थित चर्चित लटारम्बेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष माघे सङ्ग्रातिमा लाग्ने मेला यस वर्ष पनि आज धुमधामका साथ मेला लागेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ को महादेवटारकाे माथि डब्लु डाँडामा रहेको लटारम्बेश्वर मन्दिरमा नयाँ वर्ष अर्थात बैशाख १ गते र माघ १ गते मेला लाग्ने गर्छ । मेला भर्न मकवानपुरको हेटौंडा, बारा, काठमाडौं, ललितपुर र भक्तपुर लगायत अन्य ठाउँबाट पनि दर्शनार्थीहरू आउने गरेको वडा नम्बर ८ का वडा अध्यक्ष विष्णु बहादुर लामाले बताए ।
लटारम्बेश्वर मन्दिर आउन काठमाडौंबाट टिकाभैरव छपेलि बगुवा महादेवटार हुँदै जान सकिन्छ भने मकवानपुरको हेटौंडा बाट कान्तिराजपथको बाटो ठिङ्गन हुँदै पनि महादेवटार बाट जान सकिन्छ । मेला लगायत दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरूलाई स्थानीय युवाहरूले व्यवस्थापन गरेका थिए । लटारम्बेश्वर मन्दिरमा बत्ती पुर्याउन स्थानीय युवा उद्धव राज कठायतले एक वर्ष देखिको अथक प्रयास गरी आज सफल भएकोले सहयोगी सबैलाई धन्यवाद दिए ।


