पालुङ बितरण केन्द्रले २५ लाख बक्यौता उठायो
शम्भु अधिकारी
थाहा नगर / नेपाल विद्युत प्राधिकरणले ६० दिन भन्दा बढीको बक्यौता महशुल नतिर्ने उपभोक्ताहरूको लाइन काट्न अभियान सञ्चालन गरेपछि पालुङ वितरण केन्द्रले बक्यौता नतिर्ने १ सय ५० उपभोक्ताहरूको लाइन काटी २५ लाख बक्यौता महशुल उठाएको छ ।
विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत महसुल बक्यौता २ करोड नाघेपछि पछि पालुङ वितरण केन्द्रले लाइन काट्ने अभियान शुरु गरेको हो ।
विद्युत महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको ६० औँ दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत लाइन काट्न सकिने प्रावधान रहे अनुसार पटक पटक सार्वजानिक सूचना मार्फत जानकारी गराउँदा पनि अटेर गरि महशुल नबुझाउने ग्राहकको लाइन काट्न शुरु गरिएको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताए ।
केन्द्रले अभियान अन्तर्गत बक्यौता नतिर्ने ५ वटा क्रसर तथा बालुवा उद्योग सहित १३ वटा औद्योगिक १८ वटा व्यावसायिक ४ वटा सरकारी कार्यालय सहित अन्य उपभोक्ताहरूको लाइन काटिसकिएको र अभियान अन्तर्गत पहिलो चरणमा ६० दिन नाघेका मध्ये १० हजार भन्दा बढी विद्युत महशुल बक्यौता हुने ग्राहकहरूको लाइन काटिएको र हाल ३ हजार भन्दा बढीहुने उपभोक्ताहरुकोे लाइन काट्ने अभियान चलिरहेको र निरन्तर सञ्चालन गरि बाँकी बक्यौता रहेका सबै ग्राहकको लाइन काटी बक्यौता असुल गर्ने पनि प्रमुख न्यौपानेले बताए ।
१५ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रमा २ करोड बक्यौता पुगे पछि महशुल नतिर्ने ग्राहकको लाइन काट्न शुरु गरिएको र लाइन काट्न शुरु गरेपछि काटिएका मध्ये १ सय ५० भन्दा बढी ग्राहकले महशुल बुझाउँदा २५ लाख बक्यौता विद्युत महशुल उठाएको पालुङ वितरण केन्द्रका लेखा प्रमुख सुमन शिवाकोटीले बताए ।
पालुङ वितरण केन्द्रलाई हाल अस्तित्वमा नरहेको नेपाल रोप–वेले रु ७९ लाख बुझाउन बाँकी हुँदा उक्त रकम कालो सुचीमा छ । उक्त रकम असुलीका लागि विभागीय प्रयास शुरु गरेको पनि पालुङ प्राधिकरणले जनाएको छ ।



