फैलियो आँखा पाक्ने रोग : अस्पताललाई औषधि नपुग्ने डर, सरकारको छैैन भर
हेटौंडा / हेटौंडा १३ पदमपोखरीका १० बर्षीय हिमाल घलान बुधबार कक्षाकोठामा पढ्दापढ्दै आँखा रातो भयो । बरबर आँसु आएपछि उनले पढ्न सकेनन् । आँखा निकै रातो हुँदै गएपछि विद्यालयका शिक्षकले उनका बावु सानु घलानलाई फोन गरिदिए । छोरा विद्यालयमा बिरामी परेको खबर आएपछि विद्यालय नै पुगेर आफ्नो छोरालाई हेटौंडा १० मा रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालमा लिएर गए ।
अस्पतालमा लाईन उस्तै थियो । सानुले इमर्जेन्सि सेवाको टिकट लिएर हिमाललाई डाक्टरकोमा देखाए । डाक्टरले उनको आँखा पाखेको भन्दै केही औषधि दिएर आराम गर्न सल्लाह दिए ।
यस्तै हेटौंडा ६ का ६५ बर्षीय शरिषचन्द्र दाहालको बिहान उठेदेखि नै आँखा पोल्न र दुख्न सुरु भयो । जब घाम लाग्न थाल्यो तब उनको आँखाले उज्यालो हेर्नै नसक्ने भए । माहामारीको रुपमा फैलदैं गएको आँखा पाक्ने रोगको संक्रमण भएको भेउ पाएपछि दाहाल तुरुन्तै अस्पताल गए ।
हिमाल र शरिषचन्द्र त उदाहरणका पात्र मात्रै हुन् । आजभोलि हेटौंडा सामुदायिक अस्पतालमा आँखा पाक्ने बिरामीको संख्या निकै बढेको छ । बिशेषगरी विद्यालय पढ्ने बालबालिकाहरुमा आँखा पाक्ने रोगको संक्रमण बढेको आँखा बिशेषज्ञहरु बताउँछन् ।
बिरामी बढे
अन्य सामान्य अवस्थामा दैनिक २ देखि ३ सय बिरामीले सेवा लिने गरेको हेटौंडा सामुदायिक आँखा अस्पतालको तथ्यांक छ । तर हाल आँखा पाक्ने रोगको संक्रमण फैलदैं गएपछि बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालका प्रोग्राम कोओर्डिनेटर डाक्टर शुसिल कुमार सिंह बताउँछन् । उनका अनुसार हाल यस अस्पतालमा दैनिक ७ सय सम्म बिरामीहरुले सेवा लिने गरेका छन् ।
यो हप्ताको तथ्यांक अनुसार मकवानपुरमा दैनिक आँखा पाक्ने बिरामीको संख्या बढ्दै गएको पाइन्छ । गत आइतबार एकैदिन ६ सय ५६ जनाले सेवा लिएको अस्पताल प्रशासन बताउँछ । एकैदिन ७ सयको हाराहारीमा बिरामी आएपछि अस्पतालले आकस्मिक बैठक नै बसेर कसरी उपचारमा सेवा दिने भन्ने बिषयको निश्कर्ष निकालेको थियो । बैठक आकस्मिक उपचारका लागि मात्रै अस्पतालमा आउनको लागि सूचना नै टाँस गरेको छ भने दैनिक ५ सय मात्रै टिकट वितरण गर्ने प्रणली सुरु गरिएको सिंहले बताए । त्यसयता दैनिक बिरामीको संख्या ४ सय देखि ६ सयको हाराहारीमा रहेको अस्पतालको दाबी छ ।
बालबालिकामा संक्रमण धेरै
अस्पतालमा आएका बिरामीहरु मध्ये बालबालिकाको संख्या धेरै रहेको अस्पतालको तथ्यांक छ । विद्यालयमा एउटै कक्षाकोठामा धेरै विद्यार्थी पढ्ने गरेकाले एक अर्कामा यो संक्रमण छिटो फैलिएको हेटौंडा सामुदायिक अस्पतालकी आँखा रोग बिशेषज्ञ एलिना गौचन बताउँछिन् । उनको अनुसार साना बालबालिकाहरुमा यो रोगको संक्रमण छिटो फैलिएको छ । अस्पतालमा आउने ५/६ सय बिरामीमध्ये आँखा पाक्ने बिरामीहरुमा बालबालिका धेरै भेटिएको उनले बताइन् ।
मौज्दात औषधि सकिन थाल्यो
अस्पताल प्रशासनका अनुसार बिरामीको संख्या बढेपछि अस्पतालको फार्मेसीमा मौज्दात औषधि सकिन थालेका छन् । थोरै मात्रामा आउने बिरामीका लागि राखिएको औषधिको दोब्बर खपत भएपछि औषधिको अभाव सुरु हुन सक्ने अस्पताल प्रशासन बताउँछ । ‘अहिले सम्म त जेनतेन पुगेको छ । बिरामी जति बढे त्यति औषधि खपत पनि बढेको कारण अबको केही दिनमा औषधि अभाव सिर्जना हुनसक्ने सम्भावना बढेको हो,’ अस्पतालका डाक्टर शुशिल कुमार सिंहले भने ।
सरकारको छैन ध्यान
पछिल्लो समय मकवानपुरका स्थानीय तहहरुले डेंगु रोगको रोकथाम तथा नियन्त्रणको लागि विभिन्न प्याकेजहरु ल्याइरहेका छन् । डेंगु नियन्त्रण गर्न खोज र नष्ट गर भन्ने नारा नै बनाएर काम गरिरहेका छन् । तर माहामारीकै रुपमा फैलिएको आँखा पाक्ने रोग कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने तर्फ तीनै तहका सरकारको ध्यान नपुगेको सामुदायिक आँखा अस्पतालका डाक्टरहरुको गुनासो छ ।
प्रदेशको राजधानी रहेको त्यति मात्रै होइन प्रदेशको स्वास्थ्य मन्त्रालयबाट १ मिटरको दूरीमा मात्रै रहेको यस आँखा अस्पतालमा आँखा पाक्ने बिरामीको संख्या बढेर उपचारमा सकस भैरहँदा समेत प्रदेश सरकारको ध्यान नपुगेको उनीहरुको गुनासो छ । यति मात्रै होइन, स्थानीय तहहरुले पनि उपचार तथा नियन्त्रणका लागि आँखा अस्पतालसँग कुनै छलफल नगरेको बताउँछन् । स्थानीय सरकारले ध्यान दिएर यो रोगको रोकथामका लागि जनचेतना फैलाउने देखि अस्पतालसँगको सहकार्य बढाइदिए मात्रै पनि सहज हुने आँखा रोग बिशेषज्ञ एलिना गौचन बताउँछिन् ।
के हो आँखा पाक्ने रोग ?
गर्मीयाममा धुलोधुवाँ बढी हुने हुँदा आँखा पाक्ने समस्या धेरैमा देखिन्छ । आँखा रातो हुनु, आँखाबाट आँसु बग्नु, ढकनी सुन्निनु, कचेरा आउनु आँखा पाक्ने संकेत हुन् । आँखा पाक्ने रोगलाई चिकित्सकीय भाषामा ‘कन्जक्टीवाइटिस’ भनिन्छ ।
आँखा पाक्दा आँखाको सेतो भागको बाहिरी तह र ढकनीको भित्री तहमा पोलेको महसुस हुन्छ । संक्रमणका कारण हुने भएकाले रुघाखोकी जस्तै आँखा पाक्ने रोग पनि अरुलाई सजलै सर्छ । एडिनो भाइरस, ब्याक्टेरिया र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा आँखा पाक्ने गर्छ । एडिनो भाइरसका कारण एकबाट अर्को व्यक्तिमा आँखा पाक्ने राग छिटो सर्छ । यदि घरमा एक जनाको आँखा पाकेको छ भने परिवारका अरु सदस्यलाई पनि सर्छ । यो समस्या तीन–चार दिनमा ठीक हुन्छ ।
यस्तो हुन्छ लक्षण
आँखा रातो हुनु, आँसु आइरहनु, आँखा पोल्नु, आँखा भारी हुनु, कचेरा आउनु, आँखा बिझाएजस्तो हुनु आँखा पाक्दा देखिने लक्षण हुन् । यस्तै घाममा हिंड्न गाह्रो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखा सुख्खा भएर चिलाउनु, दृष्टि धमिलो हुँदै जानु, आँखा तथा आँखा वरपर को भाग सुन्निनु आँखा पाक्दा देखिने समस्या हुन् । बिहान उठ्दा आँखाको ढकनी पूरै टाँसिनु, आँखा खोल्न गाह्रो हुनु, घाममा हेर्न वा बस्न गाह्रो हुनु पनि आँखा पाक्दा देखिने लक्षण हुन् ।
कति दिनमा ठिक हुन्छ ?
आँखा पाक्ने रोग मौसम परिवर्तनसँगै हुने भएकाले यसले लामो समयसम्म सताउँदैन । गर्मी मौसममा आँखा पाक्ने रोग लागेका धेरै मानिस भेटिने भएपनि दीर्घकालीन समस्या भने होइन । संक्रमण भएको २ देखि ५ दिनमा यो रोग निको हुने आँखा रोग बिशेषज्ञ बताउँछन् ।
कसरी जोगिने ?
आँखा पाक्ने रोगबाट बच्न धुलो–धुवाँबाट बच्ने, केमिकेलको काम गर्दा चश्मा लगाउने, घरबाहिर जाँदा सनग्लासको प्रयोग गर्ने गर्नुपर्छ । मोटरसाइकल, स्कुटर चलाउँदा सनग्लासको प्रयोग गर्नु राम्रो हुन्छ । स्वीमिङ गर्दा चश्मा लगाउनुपर्छ ।
कामबाट बेलुका घर फर्किएपछि एक पटक आँखालाई चिसोपानीले धुनुपर्छ । यसले आँखालाई धुलो, धुवाँ, केमिकल र संक्रमण हुनबाट जोगाउँछ । आँखा पाक्ने रोग लागिसकेको खण्डमा आँखालाई दिनको दुई–तीन पटक मनतातो पानीले सफा गर्ने, आँखा बन्द गरेर बस्ने, आराम दिने, आपूmले प्रयोग गरेको रुमाल, चश्मा, मोबाइल अरुलाई प्रयोग गर्न नदिने, घरबाहिर कम हिंड्ने गर्नुपर्छ ।


