आज राति यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आज (बुधबार) राति पनि देशभर मौसम बदली (आकाशमा बादल) र छवटा प्रदेशमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले अघि साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भने मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले आगामी २४ घण्टा (बिहीबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ– सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। यसका कारण नदीको जलसतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


