बागमतीमा माहामारीको रुप लिदैं डेंगु, दुई हप्तामा ६ सय बढिमा संक्रमण

पालिका डायरी
१८ श्रावण २०८०, १०:३५
मकवानपुरमा फैलदैं डेंगू, दुई हप्तामा २८ संक्रमित फाईल फोटो

हेटौंडा / बागमती प्रदेशमा डेंगुको संक्रमण बढ्दै गएको छ। बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार साउनको १५ दिनमा यस प्रदेशका ८ जिल्लामा ६ सय जनामा डेंगु संक्रमण भएको छ। यस्तै, गत पुस देखि यस साउनसम्म ९ सय ८० जनामा डेंगु संक्रमण पुष्टि भएको हो। साउन लागेपछि बागमतीमा डेंगुको संक्रमण दरमा बृद्धि आएको मन्त्रालयको तथ्यांकले देखाउँछ।

७ महिनाको अवधिमा डेंगु संक्रमणका कारण सबैभन्दा धेरै धादिङ प्रभावित भएको छ। मन्त्रालयका अनुसार धादिङमा ५७६ जना, काठमाडौँमा २ जना, भक्तपुरमा ४१ जना, ललितपुरमा ३७ जना र नुवाकोटमा २८ जनामा डेङ्गु पुष्टि भएको हो। रामेछापमा २३, चितवनमा २८, काभ्रेपलाञ्चोकमा ११, सिन्धुलीमा ११, मकवानपुरमा १५, रसुवामा ४, दोलखा र सिन्धुपाल्चोकमा ३÷३ जनामा डेंगु संक्रमण भएको छ।

पछिल्लो तथ्यांक अनुसार गत वर्ष जस्तै यो वर्ष पनि बागमतीमा डेंगु संक्रमणको उच्च जोखिम देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१९ मा चार हजार ५४ जना, २०२० मा ८६, २०२१ मा १२८ जनामा र सन् २०२२ को जुलाईदेखि २०२३ को जुनसम्म यस प्रदेशमा ४२ हजार ७१४ जनामा डेंगु संक्रमण भएको थियो।

त्यसोत, लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग संक्रमण रोक्न प्रदेशभर ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सचेतना जगाउनेसँगै स्थानीय तहसँग समन्वय गरी ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो। वर्षामा पानी जम्ने स्थानमा सरसफाइ गर्ने तथा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाइएको हो। जसका लागि चालु आवमा डेंगु लगायतका महामारीजन्य रोग नियन्त्रण र रोकथाम गर्न ३ करोड १२ लाख ५० हजार रुपैंया बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया