थाहानगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन जेठ २७ गते
थाहानगर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २७ गते निर्वाचन हुने भएको छ ।
सोमबार बसेको संघको कार्यसमिति बैठकले जेठ २७ गते अधिवेशन तथा साधारणसभाको मिति तय गर्दै उमेदवारी दर्ताका लागि जेठ २४ गतेको मिति तय गरेको महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।
बैठकले आगामी वर्ष २०८०/०८१ सम्मको सदस्यता नवीकरणका लागि जेठ १९ गतेसम्मको म्याद तोकेको छ । संघको निर्वाचनमा मतदाता हुन आगामी वर्षसम्मको सदस्यता नवीकरण गरिसकेको तथा सदस्यता प्राप्ति गरेको एक वर्ष भइसकेको हुनु पर्ने विधानमा व्यवस्था रहेको महासचिव प्रधानले बताउनु भयो ।
संघको अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष उद्योग १, उपाध्यक्ष वाणिज्य १, उपाध्यक्ष वस्तुगत १, महासचिव १, कोषाध्यक्ष १, सचिव १, सह-कोषाध्यक्ष १, सदस्य वाणिज्य ७, सदस्य उद्योग २, सदस्य वस्तुगत २ गरि २० सदस्यीय कार्यसमिति प्रत्यक्ष निर्वाचन विधिबाट चयन गर्नेछ । कार्यसमितिमा ४ सदस्य मनोनित र १ सदस्य पदेन हुने व्यवस्था छ । संघको विधान अनुसार अध्यक्ष पदका लागि ३० हजार, पदाधिकारी पदहरुका लागि १५ हजार र कार्यसमिति सदस्य पदका लागि १० हजार उमेदवारी शुल्क रहने व्यवस्था छ ।


