बजेटमा कृषि उद्यम र प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकतामा राख्न सांसद बर्तौलाको माग
file photo
प्रतिनिधि सभाका सांसद महेश बर्तौलाले आगामी आ.व को वजेटमा कृषि उद्यम तथा प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताए ।
बुधबार प्रतिनिधि सभाको शुन्य समयमा बाल्दै सांसद बर्तौलाले आ.व. २०८०÷०८१ का लागि बन्दै गरेको बजेटमा कृषि उद्यमको क्षेत्र तथा प्राङ्गारिक मल उत्पादनलाई प्राथमिकता दिन पर्ने बताएका हुन् । किसानहरुको समस्यालाई सभामा प्रस्तुत गर्दै सदनमा बजेटको प्राथमिकता र सिद्धान्तबारे अन्तिम छलफलका क्रममा सांसद बर्तौलाले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।
संसदमा बोल्दै बर्तौलाले हाल कृषि क्षेत्रमा भएको मलको अभाव पूरा गर्न प्राङ्गारिक मललाई प्रयोग ल्याउने योजना बनाउनुपर्ने बताए । सबै स्थानीय तहहरुमा बन मन्त्रालय मार्फत एक÷एक प्राङ्गारिक मलको उद्योग बनाउन सकिएको अवस्थामा जंगलमा खेर गइरहेको पत्करबाट पनि स्थानियले अर्थोपार्जन गर्न सक्ने र उक्त मल कृषि उत्पादनमै खपत हुने बताए।
‘हामीसँग ५९ लाख हेक्टर वन क्षेत्र रहेको र वन पैदावरलाई सदुपयोग गर्दै जाने हो भने रोजगारी सिर्जना हुने र जैवीक खेति प्रणालीमा मुलुक लैजान सकिन्छ । अहिले कृतिम रसायन र बिषदीको प्रयोगबाट १०% उर्बरा शक्ति ह्रास भइसकेको र यसै गरि रसायन प्रयोग गर्दै जाने हो भने माटोको उर्बरा शक्ति ५० बर्षमा शुन्यमा पुग्ने सक्ने खतरा रहन्छ,’ उनले भने ।
क्युबामा सम्पुर्ण खेती प्रणाली जैविक खेती रहेको उदाहरण दिंदै भारतले पनि थालनी गरिसकेको र नेपालमा पनि जैवीक खेती प्रणालीमा कृषिलाई लैजान बजेट कार्यक्रममै सामावेश गर्नुपर्ने अर्थमन्त्री प्रकाश शरण महतलाई ध्यानाकर्षण गराएका हुन् । अहिले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेकोले यहि बाँझो जग्गामा युवाहरुको पुंजिमा पहुँच स्थापना, बीमाको व्यवस्था, बजारको सुनिश्चितता र उत्पादनमा आधारित अनुदानको व्यवस्था गरि नेपालमै काममा जोड्न सकिने उनले बताए ।अन्त्यमा अर्थमन्त्री महतले आफुले बजेट निर्माण गर्दा प्राङ्गारिक मलको कामलाई ध्यानमा राख्ने बताए ।

