चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु, बाघलाई डार्ट हानी नियन्त्रण

पालिका डायरी
१८ कार्तिक २०८३, १४:१९
पोखरामा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक निउरो टिप्न गएका एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२७ निवासी ४६ वर्षीय भीम महतो रहेका छन् । प्राप्त जानकारीअनुसार, कात्तिक १७ गते दिउँसो करिब २ बजे चार जना निउरो टिप्न वन क्षेत्रमा गएका थिए । सोही क्रममा महतोलाई बाघले आक्रमण गरी जंगलतर्फ लगेको थियो । घटनाबारे उनीसँगै गएका साथीहरूले सोही दिन साँझ इलाका प्रहरी कार्यालय दिव्यनगर, चितवनमा जानकारी गराएका थिए ।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, स्थानीयवासी तथा वन कर्मचारीको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो । खोजी गर्ने क्रममा १८ गते बिहान १०ः५५ बजे चितवन राष्ट्रिय निकुञ्जभित्र महतोको शव फेला परेको हो ।

शव फेला परेको स्थाननजिकै रहेको बाघलाई डार्ट (बेहोस बनाउने सुई) प्रहार गरी नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया