ज्येष्ठ नागरिक अस्पताल बनाऔँ : वडा अध्यक्ष सिग्देल

पालिका डायरी
१० कार्तिक २०८३, ०९:२३

हेटौँडा / हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देलले हेटौँडामा सुविधासम्पन्न ज्येष्ठ नागरिक अस्पताल आवश्यक रहेको बताउनुभएको छ।

ज्येष्ठ नागरिक मञ्च, हेटौँडा–४ ले चाडपर्वको अवसरमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उहाँले ज्येष्ठ नागरिकको उमेर ढल्किँदै जाँदा देखिन सक्ने विभिन्न रोगको उपचारका लागि छुट्टै ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो।

उहाँले ज्येष्ठ नागरिक मिलन केन्द्र हरेक वडामा र सम्भव भएसम्म हरेक टोलमा स्थापना गर्नुपर्नेमा जोड दिनुभयो। ज्येष्ठ नागरिकमाथि हुने हिंसाविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रत्येक घरमा शान्ति कायम गर्न ज्येष्ठ नागरिकमाथि हुने मानसिक तथा शारीरिक हिंसा, अपमान र असुरक्षाको अन्त्य गर्नुपर्ने बताउनुभयो।

ज्येष्ठ नागरिकको अनुभव र ज्ञानलाई उपयोग गर्दै नयाँ पुस्तामा संस्कार, संस्कृति तथा सामाजिक मूल्यमान्यताको हस्तान्तरण गर्नुपर्ने उहाँको भनाइ थियो। ज्येष्ठ नागरिकका समस्या समाधानका लागि परिवार, स्थानीय अगुवा, संघसंस्था तथा सरकारले विशेष ध्यान दिनुपर्नेमा पनि सिग्देलले जोड दिनुभयो।

ज्येष्ठ नागरिक मञ्च, हेटौँडा–४ का अध्यक्ष भोला फुँयालको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक संघ मकवानपुरका जिल्ला अध्यक्ष हरिप्रसाद सिग्देल, नगर अध्यक्ष रामबहादुर नेपाली, दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका अध्यक्ष यादव गजुरेल, भुवनेश्वर सेवा समितिका अध्यक्ष जगन्नाथ पाण्डेलगायतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया