दुई महिनासम्म भेटिएन शव, बाढीमा बेपत्ता हेटौँडाका प्रदीपको कुशको शव बनाएर अन्तिम संस्कार
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका हेटौँडा–५ का २५ वर्षीय प्रदीप सापकोटाको ६० दिनसम्म अवस्था पत्ता नलागेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।
बेपत्ता भएको दुई महिनासम्म पनि शव फेला नपरेपछि परिवारले आइतबार हेटौँडा–१० स्थित राप्ती नदी किनारमा धार्मिक विधिअनुसार कुशको प्रतिकात्मक शव बनाएर अन्त्येष्टि गरेको हो । लामो समयसम्म खोजी गर्दा पनि प्रदीपको अवस्थाबारे कुनै जानकारी नआएपछि परिवारले हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरेको हो ।
प्रदीपका बुवा बाबुराम सापकोटाले छोराको अन्त्येष्टि गर्नसमेत आर्थिक अभाव झेल्नुपरेको थियो । छोराको अवस्थाबारे जानकारी नपाएपछि काजकिरिया गर्ने खर्च जुटाउन नसकेको भन्दै उनी केहि दिन अघि जिल्ला प्रशसान कार्यालय मकवानपुर पुगेका थिए ।
प्रदीप रोजगारीका सिलसिलामा रसुवा पुगेका थिए । निर्माणाधीन जलविद्युत् आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका उनी भदौ १० गते भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका थिए । बाढी आउनुअघि उनले परिवारसँग दसैँमा घर फर्किने बताएका थिए । तर, त्यसपछि उनको अवस्था पत्ता लाग्न सकेन ।
हेटौँडाका प्रदिप मात्र होइन, भोटेकोशीको बाढीमा बेपत्ता भएका मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ का नेपाली सेनाका जमदार प्रदिप बर्तौला, सोही स्थानका प्रशान्त कार्की तथा थाहा–६ बज्रवराहीका रञ्जन अधिकारी र रेलबहादुर अधिकारीका परिवारले पनि उनीहरुको शव फेला नपरेपछि कुशकै शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् । लामो सयमसम्म पनि उनीहरुको अवस्था नखुलेपछि परिवारले धार्मिक परम्पराअनुसार क्रियाकर्म गरिएको हो ।


