पत्नीसहित ४ जनामाथि खुकुरी प्रहार, ३ को अवस्था गम्भीर
खोटाङका एक पुरुषले ससुराली घरमा गएर पत्नीसहित चार जना आफन्तमाथि खुकुरी प्रहार गरेका छन् ।
खुकुरी प्रहारबाट चार जना घाइते भएका प्रहरीले जनाएको छ । जसमध्ये ३ जनाको अवस्था गम्भीर छ । खुकुरी प्रहारमा संलग्न हलेसी तुवाचुङ नगरपालिका–३ आहालेका ४३ वर्षीय नइन्द्र कुमार राईलाई प्रहरीले पक्राउ गरेको छ ।
खुकुरी प्रहारबाट राईकी पत्नी ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेको छ । उनको पनि अवस्था गम्भीर छ । २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागेको छ । उनको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
नरेन्द्र राईको दाहिने हातमा चोट लागेको छ । उनी भने खतरा मुक्त छन् । घाइतेहरूलाई उपचारका लागि नगर अस्पताल दुर्छिम लगिएको छ ।
हतियार प्रहार गर्ने राईलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाको कारण खुलेको छैन ।



