पैसा नभएर उपचार रोकिँदैन, हेटौँडा–९ मा वडाकै बजेटबाट ८१ प्रकारका औषधि निःशुल्क

पालिका डायरी
२२ आश्विन २०८३, १५:३५

हेटौँडा / हेटौँडा उपमहानगरपालिका–९ का नागरिकले बिरामी पर्दा आर्थिक अभावकै कारण स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले वडाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम निरन्तर सञ्चालनमा रहेको छ।

वडाध्यक्ष सुकराम केसीको पहलमा सञ्चालन हुँदै आएको उक्त स्वास्थ्य सेवाबाट पछिल्लो चार वर्षमा मात्रै १३ हजारभन्दा बढी नागरिकले सेवा लिइसकेको वडाले जनाएको छ। स्वास्थ्य परीक्षणदेखि आवश्यक औषधि उपलब्ध गराउनेसम्मको व्यवस्था वडाले गर्दै आएको अध्यक्ष केसीले बताए।

वडाध्यक्ष केसीका अनुसार नेपाल सरकारबाट उपलब्ध हुने औषधिबाहेक वडाले आफ्नै स्रोतबाट ८१ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। विशेषगरी मधुमेह, उच्च रक्तचापलगायत नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगी नागरिकलाई यसबाट प्रत्यक्ष राहत पुगेको उनको भनाइ छ।

दीर्घरोगीले हरेक महिना औषधि खरिद गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै वडाले नियमित रूपमा आवश्यक औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ। स्वास्थ्य परीक्षणका लागि समेत शुल्क नलाग्ने व्यवस्था गरिएको अध्यक्ष केसीले जानकारी दिए।

यस कार्यक्रमका लागि वडाले वार्षिक करिब २० लाख रुपैयाँ खर्च गर्दै आएको अध्यक्ष केसीले बताए। उनका अनुसार नागरिकको आधारभूत आवश्यकतामध्ये स्वास्थ्यलाई प्राथमिकतामा राखेर वडाले आफ्नै बजेटबाट यस्तो सेवा निरन्तरता दिइरहेको हो।

“बिरामी हुँदा उपचारका लागि पैसा खोज्नुपर्ने अवस्था नहोस् भन्ने हाम्रो उद्देश्य हो। सामान्य स्वास्थ्य समस्या हुँदा पनि आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिन वडाले स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ,” अध्यक्ष केसीले भने।

उनका अनुसार दीर्घरोगी नागरिकका लागि नियमित औषधि खरिद ठूलो आर्थिक बोझ बन्न सक्ने भएकाले वडाबाट निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था गरिएको हो। यसले ज्येष्ठ नागरिक तथा लामो समयदेखि नियमित औषधि सेवन गरिरहेका नागरिकलाई थप सहजता पुगेको उनको भनाइ छ।

वडाले सञ्चालन गरेको स्वास्थ्य सेवाबाट स्थानीय नागरिकले वडामै स्वास्थ्य परीक्षण तथा औषधि प्राप्त गर्न सक्ने भएकाले सामान्य स्वास्थ्य समस्याका लागि टाढाका स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता समेत कम भएको जनाएको छ।

साढे चार वर्षदेखि निरन्तर सञ्चालन भइरहेको यो कार्यक्रमलाई आगामी दिनमा समेत थप प्रभावकारी बनाउने वडाध्यक्ष केसीले बताए। नागरिकको स्वास्थ्य आवश्यकतालाई प्राथमिकतामा राख्दै सेवा विस्तार र औषधिको उपलब्धता बढाउने उनको भनाइ छ।

वार्षिक करिब २० लाख रुपैयाँ बजेट, ८१ प्रकारका औषधि र हजारौँ नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने प्रयासले हेटौँडा–९ को वडा तहको स्वास्थ्य कार्यक्रमलाई नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोडेको देखिन्छ।

प्रतिक्रिया