दुर्गम चिप्लेटीका किसानलाई हेटौंडा उपमहानगरको साथ, अनुदानमा पाडापाडी
हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले दुर्गम क्षेत्रका साना किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौंडा–१५ चिप्लेटीका किसानलाई भैँसीका पाडापाडी अनुदानमा वितरण गरेको छ।
हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको नेतृत्वमा उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्ष सुनिल मोक्तानलगायतको टोलीले भदौ ३१ गते चिप्लेटी पुगेर किसानहरुलाई पाडापाडी वितरण गरेको हो। टोलीले किसानलाई पाडापाडी हस्तान्तरण गर्नुका साथै कृषि तथा पशुपालनसँग सम्बन्धित समस्या र आवश्यकताबारे छलफल गरेको थियो।
हेटौंडा उपमहानगरपालिकाको भौगोलिक रूपमा निकै दुर्गम क्षेत्रमा पर्ने चिप्लेटी पुग्न मधेस प्रदेशको बारा जिल्ला हुँदै जानुपर्ने अवस्था छ। चिप्लेटीका अधिकांश बासिन्दाको मुख्य पेशा कृषि तथा पशुपालन रहेको छ।
किसानसँगको छलफलमा स्थानीयले साना किसानलाई सरकारले सम्मान र आवश्यक सहयोग गर्न सके गाउँघरबाट हुने बसाइँसराइ रोक्न सकिने बताएका थिए। गाउँमै कृषि तथा पशुपालनबाट आम्दानी गर्ने वातावरण बने गाउँबस्ती खाली नहुने उनीहरूको भनाइ थियो।
प्रमुख लामाले साना किसानको आयआर्जन बढाउन र कृषि तथा पशुपालनलाई व्यवसायिक बनाउन स्थानीय सरकारले सहयोगलाई प्राथमिकतामा राखेको बताइन्। दुर्गम क्षेत्रका किसानसम्म सरकारी सेवा र कार्यक्रम पुर्याउन आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ थियो।
चिप्लेटी पुगेको टोलीलाई स्थानीयवासीले आत्मीय स्वागत गरेका थिए। नगरपालिकाका जनप्रतिनिधि किसानका घरदैलोमै पुगेर समस्या सुनेपछि आफूहरूमा स्थानीय सरकारप्रतिको विश्वास थपिएको स्थानीयले बताएका छन्।



