पृथ्वी राजमार्ग बन्द हुँदा मकवानपुरका वैकल्पिक सडकमा सवारीसाधनको चाप
बाढी-पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-काठमाडौँ खण्ड बन्द भएपछि त्यसको प्रत्यक्ष असर मकवानपुरका वैकल्पिक सडकमा परेको छ। नारायणगढ हुँदै काठमाडौँ जाने मुख्य सडक बन्द भएपछि सवारीसाधन हेटौँडा हुँदै वैकल्पिक मार्गतर्फ मोडिएका हुन्। जसका कारण सीमित क्षमताका सडकमा सवारीको चाप बढेको हो।
भदौ १० गते रसुवाको भोटेकोसीमा र त्यसपछि त्रिशूलीमा पटक-पटक आएको बाढीले पृथ्वीराजमार्गका विभिन्न स्थानमा कटान गरेको छ। साथै धादिङको कृष्णभिरमा समेत पहिरो खसेर सडक बन्द हुँदा काठमाडौँ प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने सवारीसाधनले मकवानपुरका वैकल्पिक मार्ग प्रयोग गर्न थालेका हुन्।
मुग्लिन हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधन हेटौँडा हुँदै सञ्चालन हुन थालेपछि हेटौँडा-भीमफेदी-काठमाडौँ सडकमा चाप बढेको हो। सामान्य अवस्थामा स्थानीय तथा सीमित संख्यामा सवारीसाधन चल्ने सडकमा अहिले लामो दुरीका यात्रुवाहक र मालवाहक गाडीसमेत थपिँदा साँघुरा सडकमा जाम र आवागमन ढिला हुने गरेको छ।
विशेषगरी ठुला ढुवानीका सवारीसाधनलाई वैकल्पिक सडकमा आवतजावत गर्न समस्या भइरहेको चालकहरू बताउँछन्। सडक साँघुरो हुनुका साथै विपरीत दिशाबाट एकैपटक सवारी आउँदा समस्या भइरहेको उनीहरूको भनाइ छ।
सवारीको चाप व्यवस्थापन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले ठुला तथा साना सवारीसाधनका लागि छुट्टाछुट्टै रुट निर्धारण गरेको छ। प्रशासनले ठुला ढुवानीका सवारीसाधनलाई काठमाडौँ प्रवेश गर्दा त्रिभुवन राजपथ र फर्कँदा कान्तिलोकपथ प्रयोग गर्न भनेको छ। साना सवारीसाधनलाई भने हेटौँडा-भीमफेदी-काठमाडौँ सडक प्रयोग गर्न भनिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार एउटै सडकबाट सबै प्रकारका सवारीसाधन सञ्चालन गर्दा चाप थप बढ्ने भएकाले रुट विभाजन गरिएको हो। सडकको क्षमता, सवारीको आकार र आवागमनको अवस्थालाई ध्यानमा राखेर व्यवस्थापन गरिएको उनले बताए।
‘ठुला सवारीका लागि प्रवेश र फर्कने छुट्टाछुट्टै रुट तोकिएको छ। साना सवारीलाई अर्को वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ’, जोशीले भने, ‘यसबाट एउटै सडकमा सबै सवारीको चाप नपरोस् र आवागमनलाई केही सहज बनाउन सकियोस् भन्ने उद्देश्य हो।’

वैकल्पिक सडकमा सवारीको चाप बढेपछि ट्राफिक प्रहरीले पनि विभिन्न स्थानमा जनशक्ति परिचालन गरेको छ। बढी चाप भएका स्थानमा सवारीसाधनलाई केही समय रोकेर समूहगत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ। यसका साथै सडकमा नियमित निगरानी बढाउनुका साथै सवारीसाधनको चेकजाँचमा समेत कडाइ गरिएको छ।
जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार मुख्य राजमार्गको अवरोधका कारण वैकल्पिक सडकमा सवारीको संख्या उल्लेख्य रूपमा बढेको छ। सडकको अवस्था र सवारीको चाप हेरेर आवश्यकताअनुसार सवारी व्यवस्थापन गर्ने गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
‘मुख्य सडक बन्द भएपछि सबै सवारी वैकल्पिक सडकमा आउँदा चाप बढेको छ’, जिल्ला ट्राफिक कार्यालय मकवानपुरका ट्राफिक प्रमुख रमेश विष्टले भने, ‘हामीले विभिन्न ठाउँमा जनशक्ति परिचालन गरेर सवारी व्यवस्थापन गरिरहेका छौँ। आवश्यकताअनुसार सवारी रोक्ने, समूह बनाएर पठाउने र सडकको अवस्था हेरेर व्यवस्थापन गर्ने काम भइरहेको छ।’
तर वैकल्पिक सडकमा सवारीको चाप निरन्तर बढिरहेकाले व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। सामान्य अवस्थामा स्थानीय आवागमन धानिरहेका सडकमा अहिले लामो दुरीका सवारीसाधन समेत थपिँदा सडकको क्षमता कमजोर देखिएको छ। सवारीको संख्या बढेसँगै यात्राको समयसमेत लम्बिएको छ।
मकवानपुरका वैकल्पिक सडकमा बढेको चापले मुख्य राजमार्ग अवरुद्ध हुँदा त्यसको असर वैकल्पिक मार्गसम्म कसरी फैलिन्छ भन्ने देखाएको छ। सीमित क्षमता भएका सडकमा एकैपटक ठुलो संख्यामा सवारीसाधन सञ्चालन हुँदा ट्राफिक व्यवस्थापन मात्र नभई सडक सुरक्षासमेत चुनौतीपूर्ण बनेको हो।
पृथ्वीराजमार्गको अवरोध हटेर मुख्य सडक नियमित रूपमा सञ्चालनमा नआएसम्म हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीसाधनको चाप घट्ने अवस्था देखिँदैन।



