त्रिशूली–३ ए सुरुङमा १० दिनपछि दुई जना जीवितै उद्धार, अन्य आयोजनामा पनि आशा बढ्यो
भोटेकोसी-त्रिशूली बाढीको १० दिनपछि शुक्रबार माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमा २ जना सुरक्षित भेटिएपछि अन्य जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्ति पनि सकुशल भेटिने आशा बढेको छ।
यसैबिच सरकारले अन्य सुरुङमा पनि उद्धार प्रयास जारी रहेको जनाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले आफ्नो फेसबुक खातामा लेखेको छ, ‘सास रहुन्जेल आस रहन्छ। प्रभावित सबै सुरुङहरूमा उद्धारका कार्यहरू निरन्तर भइरहेका छन्। सबैको प्रयास र प्रार्थना रहिरहोस्। आशा छोडेका छैनौँ। प्रयास रोकिएको छैन।’
यही भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि माथिल्लो त्रिशूली-३ ए जलविद्युत् आयोजनाको सुरुङमै थुनिएका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कविर महर्जनलाई आज बिहान उद्धार गरिएको हो।
यसले रसुवागढी र चिलिमे जलविद्युत् केन्द्र, माथिल्लो त्रिशूली-१, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्ति पनि सकुशल रहेको आशा बलियो बनेको छ।
खुसी हुँदै पूर्वऊर्जामन्त्री कुलमान घिसिङले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ १० गते त्रिशूली नदीमा आएको प्रलयकारी बाढीका कारण माथिल्लो त्रिशूली-३ ए जलविद्युत्गृहको भूमिगत विद्युत्गृहमा फस्नुभएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी साथीहरूको सकुशल जीवितै उद्धार सुरु भएको खबरले अत्यन्तै खुसी र राहतको अनुभूति भएको छ। यस घटनाबाट रसुवागढी र चिलिमे जलविद्युत् केन्द्रका भूमिगत विद्युत्गृह तथा माथिल्लो त्रिशूली-१, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनाका सुरुङमा फस्नुभएका व्यक्तिहरू पनि सकुशल रहेको आशा र विश्वास थप बलियो भएको छ।’
उनले अगाडि लेखेका छन्, ‘तसर्थ रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली-१, अप्पर त्रिशूली ३ बी र लाङटाङ खोला जलविद्युत् आयोजनामा फस्नुभएका सबै व्यक्तिको खोज तथा सकुशल उद्धारमा तत्काल र तदारुकताका साथ ध्यान केन्द्रित गर्न सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु। उद्धार कार्यमा हाम्रो विज्ञता, प्राविधिक क्षमता र साधन-स्रोतअनुसारको हरसम्भव सहयोग भइरहेको छ र निरन्तर रहनेछ। उद्धारका लागि अहोरात्र खटिनुभएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगी सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धेरै-धेरै धन्यवाद।’


