रसुवा बाढी : बेपत्ता नगरवासीको खोजीमा हेटौँडा उपमहानगरपालिकाको टोली नवलपुर पुग्यो
हेटौँडा / भदौ १० गते रसुवाको चीन–नेपाल सीमा क्षेत्रमा रहेको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हेटौँडा उपमहानगरपालिका क्षेत्रबाट बेपत्ता भएका नागरिकको खोजीका लागि उपमहानगरपालिकाको टोली नवलपुर पुगेको छ ।
काम तथा भ्रमणको सिलसिलामा रसुवा पुगेका हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाका नागरिक बाढीपछि सम्पर्कविहीन बनेपछि नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँसहितको टोलीले खोजी तथा उद्धार अभियान अघि बढाएको हो ।
टोलीले भदौ ११ गतेदेखि धादिङको गल्छीबाट नागरिकको खोजी अभियान सुरु गरेको थियो । भदौ ११ र १२ गते धादिङका विभिन्न स्थान तथा काठमाडौंका अस्पतालमा पुगेर बेपत्ता नागरिकको खोजी तथा उद्धारमा टोलीले भूमिका निर्वाह गरेको थियो ।
यसक्रममा रसुवाबाट हेलिकप्टरमार्फत उद्धार गरिएका हेटौँडा–५ की निरु खड्का र उनकी छोरी निमिसा खड्कालाई टोलीले घरसम्म पुर्याएको थियो ।
शुक्रबार राति हेटौँडा आइपुगेको टोलीले बाढीमा बेपत्ता भएका हेटौँडा–५ र हेटौँडा–१५ का तीन परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था तथा खोजीका विषयमा जानकारी लिएको थियो ।
शनिबार बिहान पीडित परिवारका सदस्यसहित टोली चितवनतर्फ गएको छ । बाढीले बगाएर नारायणी नदीसम्म ल्याइपुर्याएका शवमध्ये सम्भावित नगरवासीको पहिचानका लागि टोली भरतपुर तथा गैँडाकोटस्थित अस्पताल पुगेको नगर प्रमुख लामाले जानकारी दिइन् ।
बाढीमा बेपत्ता भएका आफ्ना नगरवासीको पहिचान तथा खोजीका लागि स्थानीय प्रशासन, प्रहरी, अस्पताल तथा पीडित परिवारसँग समन्वय गर्दै अभियानलाई निरन्तरता दिइने नगर प्रमुख लामाले बताइन् ।
खोजी अभियानमा हेटौँडा–३ का वडाध्यक्ष ढलकबहादुर थापा, हेटौँडा–८ का वडाध्यक्ष रामकृष्ण थापा, हेटौँडा–९ का वडाध्यक्ष सुकराम केसी र हेटौँडा–११ की वडाध्यक्ष जुना दाहालसहितको टोली सहभागी छ ।
चीन र रसुवाको सीमा क्षेत्रमा रहेको भोटेकोशी नदीमा आएको बाढीपछि हेटौँडा उपमहानगरपालिकाको सम्पर्कमा हालसम्म २३ जना नागरिक रहेको जनाइएको छ । यद्यपि, जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जिल्लाभर बाढीपछि ६५ जना नागरिक अझै बेपत्ता छन् ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, मकवानपुरलगायतका जिल्लाका नागरिक प्रभावित भएका छन् । बेपत्ता नागरिकको खोजी तथा पहिचानका लागि स्थानीय तह, प्रशासन, सुरक्षा निकाय र आफन्तजनले विभिन्न क्षेत्रमा खोजी अभियानलाई तीव्रता दिएका छन् ।


