रसुवाको बाढीमा हेटौंडा–१५ का तीन जना सम्पर्कविहीन, परिवारसँग वडा अध्यक्ष गरे भेटघाट

पालिका डायरी
११ भाद्र २०८३, २१:३१

हेटौंडा । रसुवामा आएको विनाशकारी बाढीपहिरोका कारण हेटौंडा उपमहानगरपालिका–१५ का तीन जना व्यक्ति सम्पर्कविहीन भएका छन्।

सम्पर्कविहीन हुनेमा हेटौंडा–१५ का सुमन गोले, हिरा श्याङ्तन र रमेश मगर रहेका छन्।

घटनापछि हेटौंडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले सम्पर्कविहीन व्यक्तिका परिवारको घरमै पुगेर प्रत्यक्ष भेटघाट गरेका छन्। उनले परिवारसँग घटनाबारे जानकारी लिनुका साथै सम्पर्कविहीन व्यक्तिहरूको अवस्था तथा घटनासँग सम्बन्धित थप विवरण संकलन गरेका छन्।

वडा अध्यक्ष मोक्तानले घटनास्थलमा समेत पुगेर बाढीपहिरोबाट भएको क्षति, वास्तविक अवस्था र घटनाको यथार्थ विवरण बुझ्ने तथा आवश्यक पहल अघि बढाउने जानकारी गराएका छन्।

विपद्को यस कठिन अवस्थामा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिने वडा अध्यक्ष मोक्तानले जानकारी गराएका छन्। साथै, प्रभावित परिवारलाई धैर्य राख्न र कुनै नयाँ जानकारी प्राप्त भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

प्रतिक्रिया