सम्पर्कविहीन नागरिकको खोजी गर्न बाढी प्रभावित क्षेत्रमा हेटौंडाको टोली

पालिका डायरी
११ भाद्र २०८३, २०:११

रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हेटौंडा उपमहानगरपालिकाका नागरिकको खोजी तथा अवस्थाबारे जानकारी लिन हेटौंडा उपमहानगरपालिकाको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ।

बुधबार (हिजो) चीन–नेपाल सीमाक्षेत्रबाट आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीपछि कामको सिलसिलामा ती क्षेत्रमा पुगेका हेटौँडाका केही नागरिकसँग सम्पर्क हुन नसकेपछि उनीहरूको अवस्था बुझ्न नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँसहितको टोली बिहीबार (आज) प्रभावित क्षेत्रमा पुगेको हो।

हेटौंडा उपमहानगरपालिकाले संकलन गरेको तथ्यांकअनुसार उपमहानगरपालिका क्षेत्रका २० जना नागरिक हालसम्म सम्पर्कविहीन छन्। उनीहरू विभिन्न काम तथा रोजगारीको सिलसिलामा रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा पुगेका थिए।

सम्पर्कविहीन नागरिकको अवस्था पहिचान, सम्भावित स्थानको जानकारी संकलन तथा खोजी र उद्धारका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्न नगरपालिकाको टोली प्रभावित क्षेत्रमा पुगेको हो। टोलीले धादिङको गल्छी पुगेर बाढीपछि त्यहाँको अवस्था, क्षतिको विवरण तथा प्रभावित क्षेत्रमा रहेका नागरिकको अवस्थाबारे जानकारी लिएको हेटौँडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामाले बताइन्।

नगर प्रमुख लामा र उपप्रमुख बानियाँसँगै हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३, ८, ९, ११ र १३ का जनप्रतिनिधि तथा कार्यपालिका सदस्यहरू टोलीमा सहभागी छन्। उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनासमेत टोलीमा सहभागी छन्।
बाढी प्रभावित क्षेत्रमा पुगेर स्थानीय तह, प्रशासन र सुरक्षा निकायबाट प्राप्त विवरणका आधारमा सम्पर्कविहीन नागरिकको खोजीलाई प्रभावकारी बनाउने नगरपालिकाको उद्देश्य छ। नगरपालिकाले सम्पर्कविहीन नागरिकको अवस्थाबारे यथार्थ विवरण संकलन गरी परिवारलाई जानकारी गराउने तथा आवश्यक परे उद्धार र राहतका लागि थप समन्वय गर्ने जनाएको छ।

प्रतिक्रिया