हिंसाले देश बन्दैन, सद्भावले राष्ट्र बलियो बन्छ : सामाजिक एकतामा जोड दिँदै अध्यक्ष लामा

राम कुमार दानी
१५ श्रावण २०८३, ०८:०९

हेटौंडा /  नेकपा (एमाले) मकवानपुरका अध्यक्ष तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा सशक्त सन्देश दिएका छन्।

उनले आफ्नो आधिकारिक फेसबुकमार्फत साझा गरेको विचारमा नेपाली समाजको विविधता नै हाम्रो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै हिंसा र विभाजनको राजनीतिबाट टाढा रहन सबैमा आग्रह गरेका छन्।

लामाले नेपाली समाजमा विभिन्न धर्म, संस्कृति र पर्वले एकअर्काबीच आत्मीय सम्बन्ध स्थापित गर्दै आएको स्मरण गराउँदै लेखेका छन्, “छठको ठेकुवा सँगै बाँडेर खायौं, ईदको सेवइँ एउटै आँगनमा बसेर चाख्यौं, अनि दशैँ र होलीमा एकापसमा रङ्गिएका हाम्रा हातहरू आज किन एक-अर्काविरुद्ध रगत बगाउन उठ्दै छन्?”

उनले यस प्रश्नमार्फत सामाजिक सद्भाव बिगार्ने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

लामाले कुनै पनि प्रकारको हिंसाले देशको भविष्य निर्माण गर्न नसक्ने स्पष्ट पार्दै नागरिकबीचको विश्वास, सहिष्णुता, आपसी सम्मान र एकताबाट मात्रै राष्ट्र बलियो बन्ने धारणा व्यक्त गरेका छन्। उनका अनुसार नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश भएकाले यसको वास्तविक शक्ति विविधताबीचको एकतामा निहित छ।

अध्यक्ष लामाले पछिल्लो समय समाजमा द्वेष, विभाजन र हिंसालाई प्रोत्साहन गर्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गर्दै सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा आम नागरिकलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

उनको सन्देश सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेको छ। धेरैले उनको भनाइलाई वर्तमान परिस्थितिमा सामाजिक एकता, धार्मिक सहिष्णुता र शान्तिको पक्षमा आएको समयानुकूल तथा सकारात्मक सन्देशका रूपमा लिएका छन्।

प्रतिक्रिया