स्थानीयकै खर्च र श्रमदानमा बन्यो धोर्सिङको सडक
मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित धोर्सिङ गाउँका स्थानीयवासीले सरकारी बजेटको प्रतीक्षा नगरी आफ्नै आर्थिक सहयोग र श्रमदानबाट गाउँको सडक मर्मत गरेका छन्। वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि बालबालिकाको विद्यालय आवतजावत, बिरामी तथा ज्येष्ठ नागरिकको स्वास्थ्य संस्थासम्म पुग्ने यात्रा, दैनिक उपभोग्य सामग्री ओसारपसार तथा कृषि उपज बजारसम्म लैजान समस्या भएपछि स्थानीय आफैं जुटेर सडक मर्मत अभियान सञ्चालन गरेका हुन्।
स्थानीयवासीले स्वस्फूर्त रूपमा आर्थिक सहयोग संकलन गरी कुल ५४ हजार रुपैयाँ जुटाएका थिए। उक्त रकमबाट ग्राभेल ढुवानी, जेसीबी प्रयोग तथा अन्य आवश्यक सामग्री र व्यवस्थापनमा ५१ हजार ३०० रुपैयाँ खर्च गरिएको जनाइएको छ। बाँकी रहेको २ हजार ७ सय रुपैयाँ सडकको थप मर्मत तथा सुधारका लागि सुरक्षित राख्ने निर्णय गरिएको स्थानीयले बताएका छन्।
सडक मर्मतका क्रममा ११ टिपर ग्राभेल प्रयोग गरिएको थियो भने सडक सम्याउन जेसीबी परिचालन गरिएको थियो। आर्थिक सहयोगसँगै स्थानीयले श्रमदानसमेत गरेका थिए। राजु राना मगर, भीमसेन विश्वकर्मा, कृष्णबहादुर सुनार, हरिशरण मगर, विकास गोर्खाली थापा मगर, सुस्मिता तामाङ, देवमाया राना मगर, आशिष अस्लामीलगायत १४ जनाले प्रत्यक्ष श्रमदान गरेर सडक मर्मत कार्य सम्पन्न गरेका हुन्।
अभियानका क्रममा रामशरण अस्लामी मगरले १० हजार रुपैयाँ सहयोग गरेका थिए भने अन्य स्थानीय तथा गाउँबाहिर रहेका सहयोगीहरूले पनि आर्थिक योगदान दिएका थिए। मकाउमा रहेका सुदेश रानाले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको स्थानीयले उल्लेख गरेका छन्।
स्थानीयवासीले ‘नयाँ सोच, सामूहिक प्रयास र गाउँको विकास’ भन्ने भावनाका साथ सम्पन्न गरिएको यो अभियानले गाउँको एकता र सहकार्यलाई थप मजबुत बनाएको बताएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्तै सामूहिक पहलमार्फत गाउँको विकास र पूर्वाधार सुधारका कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

