सिस्‍नेरी दुर्घटना अपडेट, एकको मृत्यु, १८ जना घाइते

पालिका डायरी
२३ जेष्ठ २०८३, १९:३३

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ धारा ढोलास्थित दक्षिणकाली सडकखण्डमा सुमो र बोलेरो पिकअप गाडी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
शनिबार (आज) करिब १२ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ७२०७ नम्बरको सुमो र विपरीत दिशाबाट आउँदै गरेको बीएए ९७६८ नम्बरको बोलेरो पिकअप दुर्घटनामा परेका हुन्। प्रारम्भिक अनुसन्धान अनुसार काठमाडौंको पेप्सीकोलास्थित एक पानी कम्पनीमा कार्यरत कामदारहरू पिकनिकका लागि सिस्नेरी आउँदै गर्दा बोलेरो अनियन्त्रित भई पल्टिने क्रममा सुमोसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा काभ्रेको पनौती नगरपालिका–१ घर भई हाल काठमाडौं बस्दै आएका ३७ वर्षीय पूर्णबहादुर तामाङको उपचारका क्रममा बी एण्ड बी अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेहरूमा काभ्रे घर भई हाल काठमाडौं पेप्सीखोला बस्ने ३० वर्षीय जुनु बाबु तामाङ, सुनसरी घर भई हाल भक्तपुर ठिमी बस्ने २१ वर्षीय समिर उरम, महोत्तरी घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने २६ वर्षीय रबी मगर, नुवाकोट घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय टंकबहादुर तामाङ, काभ्रे पनौती घर भई हाल ललितपुर छतिवन बस्ने ३० वर्षीय रोहन तामाङ रहेका छन्।

यस्तै, काभ्रे कोशिपारी घर भई हाल काठमाडौं जडिबुटी बस्ने ४० वर्षीय कुमार खरेल, काभ्रे घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने २४ वर्षीय रोशन लामा, काभ्रे पनौती घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय सुरेश लामा, काभ्रे घर भई हाल काठमाडौं जडिबुटी बस्ने २६ वर्षीय सुरेश तामाङ, महोत्तरी बर्दिबास घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने ४४ वर्षीय कृष्णबहादुर सुसलिङ, सोलुखुम्बु घर भई हाल काठमाडौं बस्ने २८ वर्षीय गोपी खड्का, रामेछाप घर भई हाल काठमाडौं जडिबुटी बस्ने २१ वर्षीय गुणराज भुजेल घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।

महोत्तरी घर भई हाल काठमाडौं बस्ने २० वर्षीय कबिर मगर, रामेछाप घर भई हाल काठमाडौं बस्ने १९ वर्षीय सबिन मगर, ओखलढुंगा घर भई हाल काठमाडौं बस्ने १७ वर्षीय अर्जुन मगर, काभ्रे घर भई हाल काठमाडौं बस्ने १० वर्षीय शिशिर तामाङ, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ निवासी ५५ वर्षीया लक्ष्मी श्रेष्ठ र काठमाडौं चन्द्रागिरि नगरपालिका–९ निवासी ४५ वर्षीया शान्ति महर्जन घाइते भएका हुन्।
प्रहरीका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था मध्यम र ७ जनाको अवस्था सामान्य रहेको छ। उनीहरूको काठमाडौँस्थित बी एण्ड बी अस्पताल, बौद्ध अस्पताल तथा ट्रमा सेन्टरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न सुमो चालक काठमाडौं चन्द्रागिरी नगरपालिका–१४ निवासी ४५ वर्षीय मनोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको मकावानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया