हेटौंडा–११ मा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु, १३ टोलीबीच प्रतिस्पर्धा
हेटौंडा उपमहानगरपालिका–११ स्थित सरस्वतीको मितेरी खेल मैदानमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। सरस्वती टोल विकास संस्थाको आयोजनामा तथा हेटौंडा–११ नम्बर वडा कार्यालयको प्रायोजनमा प्रतियोगिता सञ्चालन गरिएको हो।
कार्यक्रमकी प्रमुख अतिथि तथा वडा नम्बर ११ की अध्यक्ष जुना दाहालले भलिबल प्रतियोगिताको उद्घाटन गरिन्। उनले पानसमा दीप प्रज्वलन गरी तथा सहभागी टोलीका कप्तानहरूलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेकी हुन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष दाहालले खेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ र सकारात्मक मार्गतर्फ अग्रसर गराउने बताइन्। उनले यस्ता प्रतियोगिताले स्थानीय खेल प्रतिभाको पहिचान र विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
उद्घाटन खेल आयोजक सरस्वती टोल विकास संस्थाका ‘ए’ र ‘बी’ टोलीबीच सम्पन्न भएको थियो। प्रतियोगिताको पहिलो दिन विभिन्न ६ टोलीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरिसकेको कार्यक्रम संयोजक संजय बिडारीले जानकारी दिए।
आयोजकका अनुसार प्रतियोगितामा जिल्लाका विभिन्न क्षेत्रका गरी कुल १३ टोली सहभागी छन्। प्रतियोगिता जेठ २४ गतेसम्म सञ्चालन हुने तथा यस अवधिमा रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलहरू हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताको उद्घाटन कार्यक्रम सरस्वती टोल विकास संस्थाका अध्यक्ष गोकुल बिडारीको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको समापन समारोहमा २०३६ सालदेखि विभिन्न कालखण्डमा खेलकुद तथा विशेषगरी भलिबल क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएका अग्रज खेलाडी, प्रशिक्षक तथा खेलकर्मीहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ। खेलकुद क्षेत्रको इतिहास र योगदानलाई सम्मान गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने उद्देश्यले उक्त सम्मान कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ।
स्थानीय स्तरमा खेलकुद गतिविधिलाई सक्रिय बनाउने, युवाहरूको प्रतिभा उजागर गर्ने तथा समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ। प्रतियोगिताले हेटौंडा–११ लगायत समग्र मकवानपुर जिल्लाको भलिबल खेलको विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।



