चेपाङ समुदायको न्वागीमा सार्वजनिक बिदा
चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वका अवसरमा बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ।
बागमती प्रदेश सरकारले आगामी भदौ २२ गते सोमबार चेपाङ समुदायको महत्त्वपूर्ण पर्व न्वागी (छोनाम) को अवसरमा चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले बिहीबार सूचना जारी गरी प्रदेश राजपत्रमा प्रकाशित सूचनाबमोजिम तीन जिल्लामा सार्वजनिक बिदा रहने जनाएको छ।
चेपाङ समुदायले नयाँ अन्न भित्र्याएपछि प्रकृति तथा पितृलाई पूजा गरी न्वागी पर्व मनाउने गर्छन्। पर्वका अवसरमा चेपाङ समुदायको बाहुल्य रहेका चितवन, मकवानपुर र धादिङमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने गरेका छन्।
प्रदेश सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी न्वागी पर्वका अवसरमा सम्बन्धित तीन जिल्लामा सार्वजनिक बिदा दिने व्यवस्था गरेको थियो।


