हेटौंडाबाट चोरीकाे आरोपमा दुई जना पक्राउ, सुनका गरगहना र नगद बरामद
पालिका डायरी
१४ जेष्ठ २०८३, १३:१०
file photo
हेटौंडा / मकवानपुर प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
१३ गते राति करिब ३ः३० बजे वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरा चोकमा शंकास्पद अवस्थामा हिँडिरहेका दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–८ बुढीचौर घर भई हाल हेटौंडा–७ कमानेमा डेरा गरी बस्ने २३ वर्षीय चुडामणि खड्का र २१ वर्षीय टेकबहादुर खड्का रहेका छन् ।
प्रहरीले उनीहरुको शरीर तथा झोला खानतलासी गर्दा सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना, ताल्चा काट्न प्रयोग हुने बोल्टकटर, घडी तथा नगद बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार बरामद सामानमा सुनको २ थान चुरा, १ थान औँठी, २ थान झुम्का, १ थान बोल्टकटर, ४ थान घडी, १ थान सुन राख्ने डब्बा तथा नगद रु. ४ हजार ११५ रहेका छन् ।
दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।