पानी आपूर्तिमा हेटौंडा उपमहानगरको सुधार, नगरवासीलाई स्वच्छ पानी खुवाउँदै छौँ : नगर प्रमुख लामा

पालिका डायरी
७ जेष्ठ २०८३, १९:३८
पानी आपूर्तिमा हेटौंडा उपमहानगरको सुधार, नगरवासीलाई स्वच्छ पानी खुवाउँदै छौँ : नगर प्रमुख लामा
हेटौंडा / हिउँदको समयमा पानीको खोजीमा भौँतारिनु पर्ने हेटौंडेलीको बाध्यता टरेको छ । स्रोतको कमीका कारण उपमहानगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाले पानीको खोजीमा घण्टौं यात्रा गर्नुपर्ने बाध्यता टरेको छ ।

पानीको व्यवस्थापन गरिरहेको बोर्डले खानेपानीको सहज आपूर्तिका लागि काम गरिरहेको छ । हेटौंडा उपमहानगरपालिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने स्थानीय हिउँदको समयमा पानीका लागि चुरेको खोँचसम्म पुग्नुपर्ने बाध्यता अहिले टरेको छ । केही समयअघि सम्म पानीको जोहोका लागि छिमेकी जिल्ला बारा सम्म जानुपर्ने बाध्यता टरेको स्थानीयले बताएका छन् ।

पहिला त निकै समस्या भोग्नुपर्थ्यो, विगत केही वर्षदेखि पानीका लागि गर्नुपर्ने संघर्ष टरेको हेटौंडा–१५ चेपाङ बस्तीकी माया चेपाङले बताइन् । उनले भनिन्, “एक गाग्री पानीका लागि घण्टौं लगाएर मुहान खोज्दै बल्लतल्ल पानी ल्याउँथ्यौँ, पानीका लागि एक बिहानै जान्थ्यो, अहिले त्यो समस्या भने टरेको छ ।”

पहिले तत्कालीन चुरीयामाई गा.वि.स. मा बढी मात्रामा खानेपानीको समस्या हुने गरेको थियो । उपमहानगर मातहत रहेको खानेपानी व्यवस्थापन बोर्डले पानीको व्यवस्थापन मिलाएपछि अहिले हेटौंडामा खानेपानीको समस्या घट्दै गएको छ । बोर्डले अहिले हेटौंडा उपमहानगरपालिकाका १२ र १३ नम्बर वडा बाहेक १७ वटा वडामा २९ हजार ७ सय ९ वटा धारामार्फत नियमित खानेपानीको व्यवस्थापन मिलाउँदै आएको जनाएको छ ।

पानीका स्रोतहरूको व्यवस्थापन मिलाउँदै १ मुहान, ४० डीप ट्युबवेल र १० वटा समवेलमार्फत दैनिक ३ करोड ७५ लाख लिटर पानी उत्पादन गर्दै आएको बोर्डले जनाएको छ । एक दशकअघि सम्म बिहान–बेलुका गरी न्यूनतम समयमा मात्रै पानी आउने हेटौंडाको मुख्य क्षेत्रमा पानीको समस्या रहँदा तत्कालीन खानेपानी संस्थानमा लाग्ने लाइन अहिले कथा जस्तै लाग्ने गरेको छ । बोर्डले अहिले बजार क्षेत्र बाहेकका ठाउँमा दैनिक ८ घण्टा नियमित खानेपानी वितरण गर्दै आएको छ ।

बोर्डले हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारसँगको सहकार्यमा पूर्वाधार विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । अहिले विभिन्न वडाहरूमा पाइपलाइन विस्तार, पुराना संरचनाको स्तरोन्नति, ट्यांकी निर्माण तथा मुहान संरक्षणका काम निरन्तर भइरहेका छन्, बोर्डका अध्यक्ष प्रताप विष्टले बताए ।

उनले उपमहानगरले नीति अनुसार नगरवासीलाई स्वच्छ पानी उपलब्ध गराउन निरन्तर काम गरिरहेको बताए । पानीको गुणस्तर मापनका लागि प्रयोगशाला व्यवस्थापन मिलाएर काम भइरहेको उनको भनाइ थियो । बोर्डले नगरको तीव्र शहरीकरणसँगै बढ्दो मागलाई सम्बोधन गर्दै दीर्घकालीन योजना निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।

बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्ममा पानी महशुल १२ करोड १५ लाखमध्ये ११ करोड ८७ लाख रुपैयाँ संकलन गरिसकेको जनाएको छ । हिउँदको समयमा चुरे क्षेत्रमा पानीका स्रोत सुक्ने भएकाले विशेष गरी तराई प्रदेशका छिमेकी जिल्लाहरू बारा र पर्सामा बढी पानीको समस्या हुने गरेको छ ।

नगरवासीलाई स्वच्छ पानी खुवाउँदै छौँ : नगर प्रमुख

सहज रूपमा खानेपानी उपलब्ध गराउने काममा उपमहानगर सक्रिय रहेको नगर प्रमुख मीनकुमारी लामाले बताइन् । खानेपानीकै कारण नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यअनुसार धाराबाटै सिधै पिउन मिल्ने गरी खानेपानी व्यवस्थापन मिलाउने प्रयास भइरहेको जानकारी दिइन् ।

उपमहानगरले खानेपानीको सुविधा विस्तारका लागि पाइप विस्तार, ओभरहेड ट्यांकी निर्माण, उपभोक्ता समिति मार्फत भएका कामलाई सहयोग गर्दै सेवा प्रवाहलाई अघि बढाएको उनले बताइन् ।

खानेपानी व्यवस्थापनका लागि उपमहानगरले ठूलो लगानी गरेको बताउँदै उनले आवश्यक आर्थिक स्रोत सीमित भए पनि विभिन्न निकायसँगको समन्वयमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम भइरहेको जानकारी दिइन् । अहिलेको जनघनत्व अनुसार नियमित पानी वितरणका लागि पूर्वाधार भए पनि भविष्यमा बढ्न सक्ने जनसंख्यालाई ध्यान दिँदै संरचना निर्माण गरिएको नगर प्रमुख लामाले बताइन् ।

उपमहानगर क्षेत्रका बासिन्दालाई निःशुल्क खानेपानी उपलब्ध गराउने प्रयास गरिएको थियो । गत चैत्रमा भएको जेन्जी आन्दोलनपछि वितरणमुखी काम नगर्न भनिए अनुसार रोकिएको छ । उपमहानगरमा सहलगानीमा खानेपानी पूर्वाधार निर्माणको काम भइरहेको उनले बताइन् । दिगो रूपमा पानी आपूर्तिको व्यवस्थापनका लागि बोर्डसँगको सहकार्यमा काम अघि बढाइएको जानकारी दिइन् ।

प्रतिक्रिया