हेटौँडामा जेठ १३ गते बृहत् शैक्षिक महोत्सव “२० वर्षपछिको हेटौँडा” चित्रकला प्रतियोगिता हुने
Ai Photo
हेटौँडा / हेटौँडा–४ नं. वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को व्यवस्थापनमा हुने शैक्षिक महोत्सवको तयारी तीव्र बनाइएको छ । पूर्व निर्धारित जेठ १४ गते हुने भनिएको कार्यक्रम सो दिन सार्वजनिक बिदा परेकाले जेठ १३ गते बुधबार हुने शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दाहालले जानकारी दिनुभयो ।
चौधौँ पटक हुन लागेको महोत्सव यसपटक नगरस्तरीय हुने र नगरभित्रका विद्यालयहरूलाई पत्राचार गरिसकिएको तथा विद्यालयहरूले महोत्सवमा सहभागी हुन विधागत तयारी गरिरहेको उहाँले बताउनुभयो ।
महोत्सवमा विशेष कार्यक्रमका रूपमा राष्ट्रिय भाषा र संस्कृतिलाई झल्काउने नृत्य प्रतियोगिता, विज्ञान विषयको प्रदर्शनी र चित्रकला प्रतियोगिता हुने वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले बताउनुभयो ।
चित्रकला प्रतियोगिताको विषय “२० वर्षपछिको हेटौँडा” रहेको बताउँदै आजका विद्यालयका विद्यार्थीले २० वर्षपछिको हेटौँडा सहर कस्तो बनाउने भन्ने परिकल्पनामा चित्र कोर्ने बताइएको छ । विद्यालय र विद्यार्थीबीचको स्वस्थ प्रतिस्पर्धाबाट उनीहरूभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने र शैक्षिक गुणस्तरमा सुधार ल्याई विद्यार्थीलाई सिर्जनात्मक बनाउने महोत्सवको उद्देश्य रहेको वडा अध्यक्ष सिग्देलले बताउनुभयो ।
वडा अध्यक्ष सिग्देलले महोत्सवमा हेटौँडा नगरभित्रका विद्यालयहरू सहभागी हुन र विद्यार्थीलाई अवलोकन गराउन विद्यालय प्रशासन र व्यवस्थापन समितिलाई आग्रह गर्नुभएको छ । वडा कार्यालयले विगतका वर्षहरूमा तीन पटकसम्म आयोजना गरिएको महोत्सवमा हजारौँ विद्यार्थी, शिक्षक तथा अभिभावकले अवलोकन गरेको बताउँदै यसपटक करिब १० हजार जनाले अवलोकन गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।
नृत्य प्रतियोगितामा प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ पुरस्कार रहेको छ । विज्ञान प्रदर्शनीमा प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ पुरस्कार रहेको छ । चित्रकला प्रतियोगितामा प्रथमलाई २० हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई १० हजार र सान्त्वनालाई ५ हजार रुपैयाँ नगद पुरस्कार रहेको वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईंले जानकारी दिनुभयो ।



