कैलाशमा अभिभावक शिक्षा कार्यक्रम सुरु
कैलाश / मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बृहत् अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको सुरुवात गरेको छ । बिहीबारबाट सुरु भएको कार्यक्रम शनिबार सकिने जनाइएको छ ।
कैलाश–२ मा अवस्थित कमलादेवी माविमा वडा नं. २ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक राजेन्द्र घिसिङको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रमको सुरुवात गरिएको हो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले गाउँपालिकाले अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमलाई नीति तथा कार्यक्रममा राखेर यस वर्षदेखि कार्यक्रम सञ्चालन गरिएको बताए । बालबालिकाको निगरानी अभिभावकको दायित्व भएकाले शिक्षा नीतिअनुरूप अभिभावकलाई शिक्षा दिनु आवश्यक रहेको मुक्तानले बताए ।
बालबालिकाको सोच परिवर्तन गरी शिक्षा प्रदान गरिनुका साथै अभिभावकको सुझावअनुसार स्थानीय सरकारले आवश्यक नीति निर्माण गरिने उनले बताए ।
सामाजिक सञ्जालले विद्यार्थीहरू मात्र नभई अभिभावकमा पनि ठूलो असर पार्दै गइरहेको अध्यक्ष मुक्तानले बताए । सञ्जालमा सकारात्मकभन्दा नकारात्मक विषयवस्तु बढी पाइने भएकाले पठनपाठनमा समेत असर पुगेको देखिएको उनले बताए । कैलाशमा शिक्षामा सुधार भइरहेको छ । सिक्ने र सिकाउने कार्य निरन्तर रहने भएकाले विद्यालयमा मात्र नभई आफ्ना बालबालिकालाई घरमा पनि अभिभावकहरूले पठनपाठनमा ध्यान दिनुपर्ने उनले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले विद्यार्थीलाई शिक्षित बनाउन अभिभावकको ठूलो भूमिका रहने बताए । प्रविधिसँग जोडिनु राम्रो भए पनि अहिले मोबाइल प्रयोगले पठनपाठनमा समस्या उत्पन्न भइरहेको उनले बताए । सामाजिक सञ्जालले विद्यार्थीको पढाइमा असर पुगेको छ, त्यसमा अभिभावकले ध्यान दिनु जरुरी रहेको उपाध्यक्ष मल्लले बताए । विद्यालयमा मात्र होइन, बालबालिकाले घरमा पनि कसरी पठनपाठनमा सहयोग पुऱ्याउने हो, त्यसतर्फ ध्यान दिनुपर्ने उनले बताए ।
“बालबालिकाको पहिलो पाठशाला घर हो र पहिलो शिक्षक अभिभावक हुन्,” उनले भने । विद्यार्थीको पढाइको रूपरेखा कता जाने भन्ने कुरामा शिक्षकसँगै अभिभावकहरूको पनि ठूलो भूमिका रहने उनले बताए ।
कार्यक्रममा वडाध्यक्ष राजेन्द्र घिसिङले बालबालिकाको पढाइमा शिक्षक र अभिभावक दुवैको दायित्व रहने बताए । अभिभावकले घरमा संस्कार सिकाउनुपर्छ र शिक्षकले विद्यालयमा शिक्षा दिनुपर्छ । यी दुवै भएपछि मात्रै असल र सफल विद्यार्थी बन्न सकिने उनले बताए ।
सामुदायिक विद्यालयमा पढाएर पनि विद्यार्थीको भविष्य राम्रो रहने बताउँदै उनले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगले विद्यार्थी र अभिभावकबीचको दूरी बढाएको बताए । माध्यमिक शिक्षाको जग प्राथमिक शिक्षा भएकाले प्राथमिक शिक्षालाई प्राथमिकतामा राखेर पठनपाठन गरिनुपर्ने उनले बताए ।
कार्यक्रममा मुख्य प्रशिक्षक अभिषेक घिमिरेले अभिभावक शिक्षा र सचेतनासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै प्रशिक्षण दिएका थिए । बिहीबार कमलादेवी मावि र वडा नं. ६ मा रहेको व्यास माविको सभाहलमा कार्यक्रम सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख समीर जोशीले बताए ।
तीन दिन सञ्चालन हुने कार्यक्रममा बालबालिकासम्बन्धी जनचेतनामूलक गतिविधि, अभिभावक शिक्षा, सामाजिक सचेतना तथा सरोकारवालाबीच अन्तरक्रियाले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा सहयोग पुग्ने जोशीले बताए । विद्यार्थीको व्यवहार सुधार, सिकाइ क्षमता वृद्धि, घर–विद्यालय समन्वय सुदृढीकरण तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, मुख्य प्रशिक्षक अभिषेक घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र सारुमगर, विद्यालयका प्रअ रामएकवाल यादव, स्रोत शिक्षक ध्रुवराज विष्टलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं. २ मा रहेका विभिन्न विद्यालयका अभिभावकहरूको सहभागिता रहेको थियो ।



