मकवानपुरमा इन्द्रसरोवरको बेरुजु सबैभन्दा धेरै

पालिका डायरी
७ जेष्ठ २०८३, ०९:१४
इन्द्रसरोवरमा सहकारीलाई अनुदान नियम सम्मत भएन–महालेखा

मकवानपुरका १० वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बेरुजु इन्द्रसरोवर गाउँपालिकामा देखिएको छ ।

महालेखापरीक्षकको ६३ औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा ईन्द्रसरोवर गाउँपालिकाको बेरुजु ३.७९ प्रतिशत रहेको छ । इन्द्रसरोवरको कुल ९२ करोड ६७ लाख ४३ हजार बजेटको लेखा परीक्षण गर्दा तीन करोड ५१ लाख १३ हजार रुपैयाँ बेरुजु भेटिएको हो ।

यस्तै, जिल्लामा सबैभन्दा कम बेरुजु बकैया गाउँपालिकाको छ । प्रतिशतको आधारमा बकैया गाउँपालिकाको बेरुजु ०.८ प्रतिशत मात्रै छ । कुल एक अर्ब ९८ करोड ९१ लख पाँच हजार रुपैयाँको लेखा परीक्षण गर्दा एक करोड ५९ लाख ४१ हजार रुपैयाँ बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

जिल्लामा सबैभन्दा धेरै बेरुजु रहेको गाउँपालिकाको दोस्रो स्थानमा मनहरी गाउँपालिका रहेको छ । मनहरीमा १.२७ प्रतिशत बेरुजु रहेको छ भने तेस्रो नम्बरमा रहेको हेटौँडा उपमहानरपालिकाको बेरुजु १.१७ प्रतिशत रहेको छ ।

यस्तै, भीमफेदी गाउँपालिकाको बेरुजु ०.४५ प्रतिशत हुँदा कैलाशको ०.७४ प्रतिशत र मकवानपुरगढी गाउँपालिकाको ०.९ प्रतिशत रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । राक्सिराङ गाउँपालिकाको बेरुजु ०.३२ प्रतिशत, थाहा नगरपालिकाको बेरुजु ०.६८ प्रतिशत र बागमती गाउँपालिकाको बेरुजु ०.३७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको अघिल्ला प्रतिवेदनमा मकवानपुरका स्थानीय तहमा बेरुजु सुधारिएको देखिएको छ । सार्वजनिक गरिएको विवरणअनुसार जिल्लाका अधिकांश पालिकाले वित्तीय अनुशासन कायम गर्दै बेरुजु न्यून राख्न सफल भएका छन् ।

प्रतिक्रिया