भीमफेदी गाउँपालिकाको न्यायिक समितिको अवलोकन भ्रमण मनाङको चामे गाउँपालिकामा, मेलमिलाप अभ्यास र पर्यटन लगायतका विषयमा अन्तरक्रिया
भीमफेदी गाउँपालिकाको न्यायिक समितिको अवलोकन भ्रमणको तेस्रो दिन आज मनाङ जिल्लास्थित चामे गाउँपालिकाको कार्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा मेलमिलाप प्रणाली, पर्यटन प्रवर्द्धन लगायत पालिकाका विविध विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक सञ्जीव श्रेष्ठ, न्यायिक समिति सदस्य उदयप्रसाद हटवाल, न्यायिक सहजकर्ता लगायत पालिकाका विभिन्न शाखाका प्रमुख तथा स्थानीय मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो।
चामे गाउँपालिकातर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिनु देवी शर्माले पालिकाको भौगोलिक अवस्था, प्रशासनिक अभ्यास तथा समग्र विकास गतिविधिबारे जानकारी गराएकी थिइन्। उनले मनाङ जिल्लाका चार पालिकामध्ये जिल्ला सदरमुकाममा रहेको चामे गाउँपालिकाको न्यायिक समितिमा हालसम्म कुनै पनि विवाद दर्ता नभएको उल्लेख गरिन्।
यस्तै, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक सञ्जीव श्रेष्ठले भीमफेदी गाउँपालिकाको भौगोलिक अवस्था, विकासका पहल तथा न्यायिक क्षेत्रमा भएका कामहरूको अनुभव प्रस्तुत गरेका थिए। उपाध्यक्ष श्रेष्ठले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने अभियानमार्फत पालिकाले उदाहरणीय काम गरेको उल्लेख गर्दै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने देशकै पहिलो गाउँपालिका भएको बताए।
त्यस्तै, पालिकाका नौवटै वडामा स्थानीय मेलमिलाप केन्द्र स्थापना गरी अधिकार क्षेत्रभित्रका विवाद वडास्तरमै समाधान हुँदै आएको जानकारी दिए।
भीमफेदी गाउँपालिकाकी न्यायिक सहजकर्ता कल्पना दुलालले वार्षिक रूपमा नौवटै वडाबाट करिब एक सयजति विवाद दर्ता हुने गरेको जानकारी दिँदै वडाबाट मेलमिलाप हुन नसकेका तथा न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने विवादहरू गाउँपालिकाको न्यायिक समितिमा छलफल र समाधानका लागि आउने गरेको बताइन्।
कार्यक्रममा सहभागीहरूले स्थानीय तहबीच अनुभव आदानप्रदानले न्यायिक सेवा प्रवाह, सामुदायिक मेलमिलाप प्रणाली तथा पर्यटन प्रवर्द्धनका पहललाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।



