घलेगाउँमा भीमफेदी न्यायिक समितिको अवलोकन भ्रमण, मेलमिलाप र पर्यटनबारे अन्तरक्रिया

राम कुमार दानी
४ जेष्ठ २०८३, ०९:४४
मकवानपुरको भीमफेदी गाउँपालिका को न्यायिक समितिअन्तर्गत हिजोदेखि सुरु भएको अवलोकन भ्रमणको क्रममा टोली आज घलेगाउँ पुगेर मेलमिलाप र पर्यटन व्यवस्थापनसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा न्यायिक समितिका संयोजक सञ्जीव श्रेष्ठ, सदस्य उदय हटुवाल, सम्बन्धित कर्मचारी, मेलमिलाप केन्द्रका संयोजक तथा क्व्होलासोथार गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष आसबिर गुरुङ, पर्यटन व्यवसायी तथा स्थानीय सरोकारवालाबीच अनुभव आदानप्रदान भएको हो।

वडा अध्यक्ष गुरुङले विभिन्न बाधा–अवरोधका बीच पनि घलेगाउँमा २०५६ सालदेखि पर्यटन व्यवसाय सुरु गरिएको जानकारी दिए। प्राकृतिक सौन्दर्य, गुरुङ समुदायको मौलिक बसोबास तथा यहाँबाट सहजै देखिने दर्जनौं हिमालले यस ठाउँलाई विशिष्ट पहिचान दिएको उनले बताए। सुरुमा १२ घरधुरीबाट थालिएको होमस्टे अभ्यासलाई २०६७ सालमा जिल्ला प्रशासन कार्यालय लमजुङमा दर्ता गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याइएको उनको भनाइ थियो।

स्थानीय पत्रकार र समुदायको सक्रियताबाट क्रमशः प्रचारप्रसार बढ्दै गएको यस घलेगाउँलाई अहिले खेलकुद, सांस्कृतिक कार्यक्रम तथा विविध गतिविधिमार्फत पर्यटन गन्तव्यका रूपमा चिनाउने काम भइरहेको जानकारी दिइयो। हाल सुधारिएको होमस्टे संरचना, पर्यटन व्यवस्थापन समितिको नीति–नियम तथा एकीकृत मेनुका आधारमा सेवा सञ्चालन भइरहेको उनले बताए।

हाल करिब ३५० पर्यटक अट्ने क्षमता रहेको घलेगाउँमा टोल–टोलमा आमा समूह गठन गरी फोहोर व्यवस्थापन प्रभावकारी रूपमा गरिँदै आएको बताइएको छ। घलेगाउँ पर्यटन व्यवसायी संघका अनुसार यहाँ नियमित सांस्कृतिक नृत्य प्रस्तुति मार्फत पर्यटकलाई स्थानीय संस्कृतिसँग साक्षात्कार गराइन्छ।

अन्तरक्रियामा सहभागी भीमफेदी गाउँपालिकाको टोलीले समुदायको एकता, अनुशासित व्यवस्थापन तथा मेलमिलापमैत्री अभ्यासलाई अनुकरणीय मोडेलका रूपमा लिएको बताएका छन्।

यता, गाउँपालिकाको न्यायिक समितिमार्फत स्थानीय तहमा भएका विवाद तथा मेलमिलापबाट समाधान गर्न मिल्ने मुद्दाहरू वडा र पालिकामै समाधान गराइने वडा अध्यक्ष गुरुङले बताए।


प्रतिक्रिया