कक्षा ९ मा पढ्दै गर्दा जनयुद्धमा होमिएका वडाध्यक्ष स्याङ्तान २५ वर्षपछि एसईई उत्तीर्ण
काभ्रेको खानीखोला गाउँपालिका–५ का वडा अध्यक्ष बुद्धि बहादुर स्याङ्तान ४४ वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण भएका छन्। उनले सोही वडाको जनविकास माध्यामिक विद्यालयबाट परिक्षा दिएका थिए।
२०५७ सालमा कक्षा ९ पढ्दापढ्दै तत्कालीन माओवादीको जनमुक्ति सेनामा होमिएका उनी गत वर्ष कक्षा ९ मा भर्ना भएका थिए। पढाई छोडेको २५ वर्षपछि उनले सोही विद्यालयबाट एसईई उत्तीर्ण गरेका हुन्।
वडाको काम भ्याएर महिनाको ९-१० दिन विद्यालय पुगेर पढ्ने गरेको उनी बताउँछन्। ‘पढ्ने रहर धेरै थियो, सानो बेलामा यत्तिकै पढाई छोडेँ, उनले भने, ‘पछि पनि पढ्ने मौका कुरिरहेको थिएँ। राजनीतिमा लागेपछि समाजसेवामै अलमल हुने रहेछ। जसरी पनि समय निकालेर पढ्छु भन्ने कक्षा ९ बाटै सुरु गरेँ। दुईवर्षको मेहेनतले एसईईमा सफल हुन पाएँ।’
पढ्नका लागि रहर भए उमेर बाधक नहुने उनी बताउँछन्। एसईईमा २.५५ जीपीए सहित उत्र्तीण भएका वडाध्यक्ष स्याङतानले सोही विद्यालयमा कक्षा ११ मा भर्ना गर्ने निर्णय गरेका छन्। कक्षा १२ सम्मको अध्ययन सकाउन रहर लागेको उनी बताउँछन्।
आफ्नो जेठी छारी विनिसाले गतवर्ष नै एसईई पास गरिसकेको बताउँदै उनले हाँस्दै भने, ‘जेठी छोरी ११ मा पढ्छिन्। कान्छि अहिले १० मा पुगिन्। छोरा ५ मा पढ्दै छ। म जेठी छोरीभन्दा एक ब्याज पछि परेँ।’ जनप्रतिनिधि भएपछि अझ आफूले शिक्षाको महत्व बुझेको उनी बताउँछन्।
‘आफ्नो पढाईका कारण वडाको काममा बाधा नपुर्याउने उनको भनाइ छ। विद्यालयका लागि त फूर्सदको समय मिलाएर पढेँ। ११ त बिहानी कक्षा हुन्छ। बिहान पढ्न जान्छु। दिउँसो वडा जान्छु,’ उनले भने।



