शैक्षिक गुणस्तर सुधार गर्न ज्ञानदा माविको यस्तो छ योजना

पालिका डायरी
१० बैशाख २०८३, १९:०१
शैक्षिक गुणस्तर बृद्धि गर्न ज्ञानदा माविको यस्तो छ योजना

हेटौंडा उपमहानगरपालिका–१० मा रहेको ज्ञानदा माध्यामिक विद्यालयले चालु शैक्षिक सत्रमा विशेष योजना सहित शैक्षिक कार्यक्रम सुरु गर्ने भएको छ । विद्यालय परिसरमा पत्रकारसँग अन्तक्रिया गर्दै विद्यालय प्रशासनले नयाँ योजना सहित शैक्षिक कार्यक्रम सुरु गर्ने जनाएको हो ।
विद्यालयका प्रधानाध्यापक विनोद कुमार गुप्ताले शैक्षिक गुणस्तर बृद्धि गर्न विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिबीच सहकार्य गरेर योजना बनाइएको बताए । उनका अनुसार विद्यालयले अंग्रेजी माध्याममा पनि पठनपाठन सुरु गर्न लागेको छ । हरियाली, शान्त र अनुशासित वातावरणमा पढाई हुने यस विद्यालयमा विज्ञान प्रयोगशाला, लाइव्रेरी र गणित प्रयोगशालाको समेत व्यवस्था रहेको बताए ।

वि.स. २०२८ सालमा स्थापना भएको ज्ञानदा माध्यामिक विद्यालय २०५२ सालबाट पूर्ण सरकारी माध्यामिक विद्यालयको रुपमा स्वीकृती प्राप्त गरेको थियो । हाल ३३५ विद्यार्थी अध्ययनरत विद्यालयमा चालु शैक्षिक सत्रमा विद्यार्थीको संख्या बढाउने लक्ष्य लिइएको प्रधानाध्यापक गुप्ताले बताए । जसका लागि १० नम्बर वडा कार्यालयको सहकार्यमा हेटौंडा–११ स्थित सिमलटार क्षेत्रमा भाडाको म्याजिक भ्यानको व्यवस्था मिलाइने तयारी गरिएको छ ।

१७ जना विषय विज्ञ शिक्षक सहित कुल २० जना कार्यरत यस विद्यालयमा शैक्षिक गुणस्तर सँगै विद्यालयको भवन निर्माणको कार्य समेत भैरहेको छ । अंग्रेजी माध्यममा अध्ययन गराउने उदेश्य सहित विद्यालय परिसरमा दुईतले पक्की भवन निर्माण भैरहेको हो । जसका लागि वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाबाट समन्वय भैरहेको छ ।

आगामी ५ वर्षमा विद्यार्थीको संख्या १ हजार पुर्याउने लक्ष्य सहित नयाँ भर्ना अभियान सुरु गरिएको बताइएको छ । हेटौंडा–१० मा रहेको एउटा मात्रै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर देखि संरचना सुधारसम्मका लागि स्थानीय तहले सहयोग गर्ने वडा अध्यक्ष फूर्वा दोर्जे लामाले बताए ।

‘शैक्षिक क्षेत्रलाई अब्बल बनाउन हामी जनप्रतिधिहरु रातदिन लाग्ने छौं, उनले भने, ‘यस वडामा अब्बल संस्थागत विद्यालयहरु पनि छ । संस्थागत सँगै सामुदायिक विद्यालयलाई पनि कसरी राम्रो बनाउने भन्ने हिसाबले हामी अगाडि बढेका छौं । जसका लागि शिक्षक, जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समिति एकजुट भएर लाग्नुपर्छ ।’

विद्यालयले दीर्घकालिन कार्यक्रम अन्र्तगत नयाँ सभाहल निर्माण गर्ने, विद्यालयको चौर र पर्खाल जिर्णोद्धार गर्ने, यातायातको स्थायी व्यवस्था गर्ने तथा खेल मैदानको व्यवस्था गर्ने जनाएको छ । आगामी ३ वर्षभित्रमा व्यवसायीक धारमा प्लस टु लगायतको बहुमुखी कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।

 

प्रतिक्रिया