हेटौंडा–१५ मा बौद्ध शिक्षा तथा गुम्बा व्यवस्थापन समिति गठन, १३ सदस्यीय कार्यसमिति सर्वसम्मत
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा आयोजित एक महत्वपूर्ण भेलाबाट वडा स्तरीय बौद्ध शिक्षा तथा गुम्बा व्यवस्थापन समिति गठन गरिएको छ। उक्त भेलाले १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै समितिको औपचारिक सुरुवात गरेको हो।
नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा कार्साङ योन्जन लामा, उपाध्यक्षमा मिना लामा तथा कार्साङ लो लामा, महासचिवमा हर्क रत्न लामा, सचिवमा युवराज लो र कोषाध्यक्षमा बिना लो चयन हुनुभएको छ। अन्य सदस्यहरू पनि सर्वसम्मत रूपमा मनोनयन गरिएको जनाइएको छ।
समितिको मुख्य उद्देश्य वडाभित्र रहेका सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूलाई एकीकृत गर्दै बौद्ध धर्मसम्बन्धी शिक्षा, ज्ञान तथा संस्कारको प्रवर्द्धन गर्नुका साथै गुम्बा व्यवस्थापनलाई व्यवस्थित र संस्थागत बनाउनु रहेको बताइएको छ। धार्मिक अधिकारहरूको संरक्षण र प्रवर्द्धनलाई संगठित ढंगले अघि बढाउने दृढ लक्ष्यका साथ समितिको स्थापना गरिएको हो।
यस कार्यको प्रारम्भिक परिकल्पना तथा नेतृत्व वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानको पहलमा भएको हो। उक्त भेला कार्यक्रमको प्रमुख आतिथ्य पनि उहाँले नै गर्नुभएको थियो। कार्यक्रममा सहकार्य, आपसी सद्भाव र धार्मिक पहिचानको संरक्षणलाई प्राथमिकतामा राख्दै संस्थागत रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याइएको थियो।
समितिको स्थापना वडा अध्यक्षको पहल र नेतृत्वमा सम्भव भएको भन्दै उहाँप्रति आभार व्यक्त गरिएको छ। नवगठित समितिले आगामी दिनहरूमा वडामा धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
अन्त्यमा, सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समितिले समाजमा सकारात्मक परिवर्तन र आध्यात्मिक चेतनाको विस्तार गर्ने अपेक्षा गरिएको छ।



