मेयर लामाद्वारा हेटौंडा–५ को वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन
हेटौंडा / हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडाकाे राईटोलमा नवनिर्मित वडा कार्यालय तथा सामुदायिक भवन उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिकाकाे मेयर मीना कुमारी लामाद्वारा आज एक औपचारिक कार्यक्रमबीच उक्त भवनकाे उद्घाटन गरिएको हाे । १ करोड २० लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न उक्त भवन स्थानीय, समाजसेवी, विभिन्न राजनीतिक दल तथा जनप्रतिनिधिहरूको सहयोग र सहकार्यबाट सम्पन्न भएको हो ।
नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर लामाले हेटौंडा नगरको परिकल्पना अनुरूपको हेटौंडा निर्माणका लागि पहलहरू भइरहेको बताइन् । उनले अहिले बनेको नयाँ सरकारलाई सहयोग गर्दै नगरको समृद्धिका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन् । वडा कार्यालय जनताको सेवाको आधारस्तम्भ भएकाले नगरपालिकाले सेवा विस्तारका लागि सबै वडा कार्यालयहरूलाई आवश्यक जिम्मेवारी प्रदान गरिसकेको उनले स्पष्ट पारिन् ।
मेयर लामाले भवन निर्माणका लागि जग्गा प्राप्तिदेखि निर्माण सम्पन्न हुँदासम्म सहयोग पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, व्यक्तिगत सिफारिसदेखि सरकारी सेवासम्मका काम छिटो, छरितो र प्रभावकारी ढंगले प्रवाह गर्न जनप्रतिनिधि तथा कर्मचारीहरूलाई समर्पित हुन आग्रह गरिन् । साथै वडा नं. ५ लाई नमूना वडा बनाउन वडा बासिन्दालाई सक्रिय भूमिका खेल्न समेत आह्वान गरिन् ।

त्यस्तै वडा अध्यक्ष घिमिरेले सबै राजनीतिक दलप्रति सम्मान व्यक्त गर्दै वडा कार्यालयलाई जनताको जगका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए । साथै वडाका बासिन्दालाई पर्ने हरेक समस्यामा वडाको तर्फबाट आवश्यक साथ र सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । नवनिर्मित प्रशासनिक भवन सञ्चालनमा आएसँगै वडा स्तरबाट प्रदान गरिने सेवाहरू अझ व्यवस्थित, छिटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
मेयर लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा ५ नम्बर वडाका वडाध्यक्ष सुशील घिमिरेको सभाध्यक्षतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका वडाका वडा अध्यक्षहरू, समाजसेवी, स्थानीयहरुकाे उपस्थिति रहेकाे थियो ।




