इन्द्रसरोवर गाउँपालिकामा ५५ प्रतिशतले गरे मतदान
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा आज सम्पन्न मतदानमा कुल ५५ प्रतिशत मत खसेको छ । इन्द्रसरोवरको हेमी चौरस्थित सङ्कलन केन्द्रमा प्राप्त विवरण अनुसार गाउँपालिकाभर रहेका ११ वटा मतदान स्थलका १८ मतदान केन्द्रबाट मतदान सम्पन्न भएको हो ।
कुल १२ हजार ४५८ मतदाता रहेकोमा तीमध्ये ६ हजार ८४३ जनाले मतदान गरेका छन् । खसेको मतमध्ये ३ हजार ८९ महिला र ३ हजार ७५४ पुरुष मतदाता रहेका छन् । प्रतिशतको आधारमा सबैभन्दा धेरै मत खसेको सिंह भैरव आधारभूत विद्यालय लप्सिखोलामा ६०.२१ प्रतिशत रहेको छ भने रुपादेवी आधारभूत विद्यालय टोमाटमा ५८.२६ प्रतिशत मतदान भएको छ । त्यस्तै वनदेवी आधारभूत विद्यालयमा ५३.८७ प्रतिशत तथा चन्द्र आधारभूत विद्यालय सिसलाईमा ५३.६९ प्रतिशत मतदान भएको छ ।
त्यसैगरी पञ्चकन्या मावि खानिखेत कुलेखानी, आजादेश्वरी बालबोध आधारभूत विद्यालय सिसनेरी, बसन्तदेवी मावि टेकर, भैरव निमावि काप्राङ, कालिका माध्यमिक विद्यालय फाखेलचौर, बालमैत्री भवन खड्पु पाटीचौर र कालिदेवी माध्यमिक विद्यालय चखेललगायतका केन्द्रमा पनि मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।




