सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा कोषमा लगिँदै : आज अभिमुखीकरण

पालिका डायरी
२८ पुष २०८२, २०:०४

भीमफेदी गाउँपालिकाले “प्राकृतिक स्रोत, कृषि, पर्यटन र पूर्वाधार : सुखी र समृद्ध भीमफेदीको आधार” भन्ने मूल नाराका साथ सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई लक्षित गर्दै सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण तथा आबद्धता कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिहरूका लागि लागू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबारे विस्तृत अन्तरक्रिया गरिएको थियो । महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सामाजिक सुरक्षा कोषमा कसरी जोड्ने तथा उनीहरूले समुदायमा के–कस्ता भूमिका निर्वाह गर्न सक्छन् भन्ने विषयमा विशेष छलफल गरिएको थियो ।

नेपालको संविधान २०७२ को धारा ३४ ले योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेपछि यस कार्यक्रमले थप कानुनी आधार प्राप्त गरेको छ ।

गाउँपालिकाले दुई वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध २०० जना व्यक्तिहरूका लागि प्रत्येक महिना नियमित रूपमा योगदान रकम जम्मा गर्दै आएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । लामाले आफ्नो कार्यकालमा भीमफेदीलाई पेन्सनमैत्री गाउँपालिका बनाउने योजनाका साथ गाउँपालिका अगाडि बढिरहेको बताए । यसका साथै बेरोजगारी समस्या समाधान तथा श्रमिक र स्वरोजगार वर्गको सामाजिक तथा आर्थिक सुरक्षाको प्रत्याभूति गराउने लक्ष्य लिइएको छ ।

कार्यक्रमका प्रस्तुतकर्ता तथा गाउँपालिका अध्यक्ष लामाले “मुखले मात्रै समाजवाद आउँदैन” भन्दै श्रम गर्ने वर्गको मर्मअनुसार नीति तथा कार्यक्रम अगाडि बढाइएको बताए । गरिखाने वर्गलाई लक्षित गरी सामाजिक सुरक्षा सुनिश्चित गर्न यो कार्यक्रम सुरु गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्रालयका महाशाखा प्रमुख सुनिता गजुरेल, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपाने, योजना अधिकृत बद्री सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

साथै, भीमफेदी गाउँपालिकाका नौवटै वडाका महिला स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सामाजिक सुरक्षा कोषमार्फत श्रमिक, स्वरोजगार तथा अनौपचारिक क्षेत्रका व्यक्तिहरूलाई सुरक्षित भविष्यतर्फ डोर्याउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रमले भीमफेदीलाई समृद्ध, सुरक्षित र सामाजिक न्यायमा आधारित गाउँपालिका बनाउने दिशामा महत्वपूर्ण कदम चालेको सरोकारवालाहरूको भनाइ रहेको छ ।

प्रतिक्रिया