मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आइतबार साँझ करिब साढे ५ बजे काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा सुमोमा सवार ९ जना घाइते भएका थिए। उनीहरूलाई प्रहरी तथा स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएको थियो। उपचारका क्रममा ६ जनाको मृत्यु भएको र बाँकी ३ जनामध्ये दुई बालबालिकाको अवस्था मध्यम तथा एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सुमोमा ६ पुरुष, १ महिला र २ बालबालिका सवार रहेका थिए। मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।



