सेवा सुविधा नलिएरै जनसेवामा सक्रिय मकवानपुरका दुई जनप्रतिनिधि
दुरुपयोग र अकुत सम्पत्ति आर्जनमा लिप्त भएको आरोप खेपिरहेका छन्। यस्ता नकारात्मक उदाहरणहरूको भीडमा मकवानपुरका दुई जना प्रतिनिधि यस्ता छन्, जसले बिना तलब र सेवा सुविधा पनि जनताको सेवामा सक्रिय छन्।
२०७९ को स्थानीय तह निर्वाचनका क्रममा मतदाताको घर–आँगनमा पुगेर मत माग्दै गर्दा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जनताको करबाट प्राप्त हुने कुनै पनि सरकारी सेवा–सुविधा नलिने प्रतिबद्धता व्यक्त गरेका थिए। उनको यही प्रतिबद्धताले मतदाताको मन जित्यो र उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए।
कार्यकालको चौथो वर्ष चलिरहँदासम्म पनि उनले राज्यकोषबाट प्राप्त तलब, भत्ता तथा सवारी सुविधा लिएका छैनन्। अध्यक्ष निर्वाचित हुनु अघिदेखि नै उनले चढ्दै आएको बागमती प्रदेश ०१–०२७ च ५२९९ नम्बरको फरच्युनर गाडी नै प्रयोग गर्दै आएका छन्।
उनले नलिएको तलब र भत्तावापतको रकम व्यक्तिगत खातामा होइन, गाउँपालिकाको कोषमा जम्मा गर्दै आएका छन्। सो रकम विपन्न परिवारका लागि घर निर्माण, विद्यार्थीहरूका लागि शैक्षिक सामग्री वितरण, तथा सामाजिक सहयोगका विभिन्न कार्यक्रममा खर्च भइरहेको छ।
यसअघि उनले आफ्नै तलव खर्चिएर मनहरी गाउँपालिका–५ वसन्तपुरकी सोनी राईलाई दुई कोठे अवाास बनाइदिएका थिए। अहिले पनि उनकै तलब सुविधाबाट मनहरी गाउँपालिका–६ मा एकजना विपन्न नागरिकको घर निर्माण भैरहेको छ। आफू पैसा कमाउनका लागि नभएर निस्वार्थ राजनीतिमा लागेको उनको भनाइ छ।
‘मैले चुनावी मैदानमा होमिएकै बेला तलबभत्ता वापतको रकम तपाईंहरूकै सेवामा समर्पित गर्छु भन्ने वाचा गरेको थिएँ, त्यही वाचा पूरा गरिरहेको छु,’ उनले भने, ‘यसअघि पनि मैले उपचार गराएर अस्पतालको रकम तिर्न नसक्दा डिस्चार्ज हुन नसकेको बिरामीको रकम तिरेर घर ल्याएँ। विद्यालमा शैक्षिक सामग्री, विद्यार्थीलाई न्यानो कपडादेखि सडक ढलानसम्ममा खर्च गरेको छु। विभिन्न समस्यामा परेकाहरूलाई सहयोग गर्दै आएको छु।’
यस्तै, मकवानपुरकै इन्द्रसरोवर गाउँपालिका–२ नम्बर वडाका वडाअध्यक्ष सुमन श्रेष्ठले पनि सरकारी सेवा सुविधा त्यागेर जनताको सेवामा समय खर्चिरहेका छन्। अत्यावश्यक काम बाहेक हरेक दिन कार्यालय समयमा आफ्नै कार्यकक्षमा भेटिने अध्यक्ष श्रेष्ठले पनि सरकारी तलब, भत्ता र सवारीको सुविधा लिएका छैनन्। बरु उनले सधैँ चढ्ने गरेको सुजुकी ब्राण्डको गाडीले कहिले विद्यार्थी बोक्छन् भने कहिले बिरामीलाई अस्पतालसम्म पुर्याउन समेत प्रयोग गर्दै आएका छन्।
तलब भत्ता वापतको रकम उनकै खातामा जम्मा हुन्छ। उक्त रकम विद्यार्थीको लागि न्यानो कपडा, शैक्षिक सामग्री वितरणदेखि वडामा रहेका बिरामीहरूको स्वास्थ्यमा समेत खर्चंदै आएका छन्।
‘पैसा कमाउन, सम्पत्ति जोड्नका लागि राजनीतिमा आउने होइन। राजनीतिक केबल समाजसेवा गर्ने थलो हो भन्ने मलाई लाग्छ,’ वडाअध्यक्ष श्रेष्ठले भने, ‘मैले चुनावमा घरदैलो जाँदा नै तलबको रकमले समाजसेवा नै गर्छु भनेको थिएँ। अध्यक्ष नहुँदा पनि मैले व्यक्तिगत खर्चले धेरै समाजसेवा गरेको थिएँ।’
उनले थपे, ‘वडाअध्यक्षले पाउने एउटा मोटरसाइकल रहेछ। मसँग गाडी नै भएपछि त्यो लिइनँ। तलब भत्ता मेरै खातामा जम्मा हुन्छ। त्यसमा पनि केही रकम आफ्नै थपेर विद्यार्थीलाई पोशाक बाँड्छु। बिरामीलाई उपचार गराउँछु। पढाई खर्च जुटाउन नसक्ने विद्यार्थीलाई दिन्छु। यस्तै काममा खर्च गरिरहेको छु। तलब वापतको रकमले म आफैंले एक कप चिया पनि खाएको छैन।’
मनहरी गाउँपालिका अध्यक्ष कालाखेती र वडाध्यक्ष श्रेष्ठ दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्। पछिल्लो समय राजनीति जनसेवाभन्दा सुविधा र स्वार्थसँग बढी जोडिँदै गएको आरोप लागिरहँदा मकवानपुरका यी दुईजना जनप्रतिनिधिको फरक अभ्यास मार्फत नेतृत्वको अर्थ पुनः परिभाषित गरिरहेका छन्।
यी दुवै अध्यक्षले चुनावी प्रचारका क्रममा व्यक्त गरेको प्रतिबद्धतालाई सत्ता र शक्तिको केन्द्रमा पुगेपछि पनि बिर्सेनन्। तलब, भत्ता र सरकारी सुविधा त्यागेर जनताको सेवामा समर्पित उनीहरूको भूमिकाले स्थानीय तहको राजनीतिमा आशा र भरोसाको नयाँ किरण देखाएको स्थानीयबासी बताउँछन्।



