यी हुन् केन्द्रीय सदस्यको दौडमा रहेका बागमतीका ४ जिल्ला अध्यक्ष

पालिका डायरी
२६ मंसिर २०८२, १६:१५
यी हुन् केन्द्रीय सदस्यको दौडमा रहेका बागमतीका ४ जिल्ला अध्यक्ष

मंसिर २७ गतेबाट सुरु हुने नेकपा एमालेको ११ औँ महाधिवेशनमा बागमती प्रदेशका ४ जिल्ला अध्यक्षहरू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन्।

बागमतीमा एमालेका ४ जिल्ला अध्यक्षहरू केन्द्रीय नेतृत्वमा डेब्यु गर्ने तयारीमा जुटेका हुन्। धादिङ, चितवन, नुवाकोट र सिन्धुपाल्चोकका जिल्ला अध्यक्षहरूले केन्द्र ताकेका छन्।

बागमतीका १३ जिल्लामध्ये ७ जिल्ला अध्यक्षहरू महाधिवेशन प्रतिनिधि नै बनेनन्। उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरू महाधिवेशन प्रतिनिधिको उम्मेदवार नै नबनेका हुन् भने मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा पराजित भएका थिए।

रसुवाका तत्कालीन अध्यक्ष जनार्दन ढकाल यसअघि नै अध्यक्ष पदबाट राजीनामा दिएर बाहिरिएका छन्। रसुवामा हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष कैसाङ नुर्वो तामाङले सम्हाल्दै आएका छन्।

काठमाडौँका एमाले अध्यक्ष दीपक निरौला, ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र भक्तपुरका अध्यक्ष बचन देउजाले अन्यलाई पालो दिनुपर्ने भन्दै महाधिवेशन प्रतिनिधि नै बनेनन्। प्रतिनिधि बनेका ४ जिल्ला अध्यक्षले केन्द्रीय कमिटीमा आफ्नो भूमिका खोज्ने योजनासहित महाधिवेशनमा सहभागी हुने तयारी गरेका छन्।

धादिङ एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठी केन्द्रीय सदस्यको दौडमा छन्। महाधिवेशनका लागि धादिङबाट त्रिपाठीसहित १८ जना प्रतिनिधि छनोट भएका हुन्। त्रिपाठी अब जिल्लाको नेतृत्व छोडेर केन्द्रीय सदस्य बन्ने दौडमा लागेका छन्। अध्यक्ष केपी शर्मा ओली निकट उनी यतिबेला केन्द्रीय सदस्यमा अटाउने लबिइङमा लागिरहेको धादिङका एमाले नेताहरू बताउँछन्।

‘मेरो केन्द्रीय कमिटीमा आकांक्षा हुनु स्वभाविक हो, सधैँ तलको तह ओगटेर बस्न हुन्न भन्ने लागेर तयारी गरिरहेको छु,’ त्रिपाठीले भने, ‘१२ वर्ष भएछ म जिल्ला अध्यक्ष बनेको। अब ठाउँ खाली गरेर नयाँ पुस्तालाई पालो दिनुपर्छ भन्ने लागेर केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरिरहेको छु।’ त्रिपाठी पछिल्लोपटक ४ फागुन २०८० मा जिल्ला अध्यक्ष पदमा निर्वाचित भएका थिए।

यता, चितवनका अध्यक्ष कमल राज पाठक पनि राष्ट्रिय महाधिवेशनको माहोल अनुसार निर्णय हुने बताउँछन्। १६ जेठ २०८१ मा अध्यक्ष निर्वाचित भएका पाठकले जिल्लाको नेतृत्व छोडेर केन्द्रमा आकांक्षा देखाएका हुन्।

उनले भने, ‘पार्टी अध्यक्षज्यूमा सामान्यतया आकांक्षा व्यक्त गरेर आएको छु। उहाँले मुसुक्क हाँसेर प्रतिक्रिया दिनुभएको छ। जसरी पनि केन्द्रीय सदस्य बन्छु भनेर हिँडेको छैन। तर माहोलले मागेको खण्डमा पछि हट्दिनँ।’

यसैगरी, सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष होम नारायण श्रेष्ठ पनि तयारीमै रहेको बुझिएको छ। पार्टीको आवश्यकतामा आफू परियो भने केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी रहेको उनले बताए।

अहिले सिन्धुपाल्चोकमा यही विषयमा पार्टीभित्र छलफल चलिरहेको बताउँदै उनले भने, ‘रहर त सबैजनाको हुन्छ। एकल डिसिजनले मात्रै हुँदैन। तर महाधिवेशनको माहोलले मलाई केन्द्रीय सदस्यमा अघि बढ्न ग्रिन सिग्नल दियो भने पछि हट्दिनँ।’

एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली पनि अब केन्द्रीय कमिटीमै आफ्नो पाइला रहने बताउँछन्। तीन कार्यकालसम्म जिल्ला अध्यक्षको कार्यभार सम्हालेका उनी पछिल्लो पटक १३ जेष्ठ २०८१ मा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए। अहिले केन्द्रीय सदस्यको तयारीमा जुटिरहेको बताउँदै उनले भने, ‘थोरै थोरै समयका लागि भए पनि ३ पटक जिल्ला अध्यक्षको भूमिका निर्वाह गरेँ। अब पार्टीको ११ औँ महाधिवेशनबाट केन्द्रीय कमिटीमा जाने तयारीमा छु।’

तर, सिन्धुलीका जिल्ला अध्यक्ष महेन्द्र देव श्रेष्ठले भने हाललाई केन्द्रीय कमिटीमा आफ्नो आकांक्षा नभएको बताए। जिल्ला नेतृत्वको जिम्मेवारी लिएको दुई वर्ष पनि नहुँदै आफ्नो जिम्मेवारी छोडेर केन्द्रीय सदस्य बन्न आफूलाई रहर नभएको उनले बताए। रामेछापका जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले पनि वर्तमान अवस्थामा केन्द्रीय कमिटीमा जाने तयारी नरहेको बताए।

११ औँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सफल बनाउनका लागि आफू प्रतिनिधि बनेको बताउँदै रापेछापका अध्यक्ष कडरियाले भने, ‘रामेछापबाट केन्द्रीय सदस्यका लागि बागमती प्रदेशका सांसद आनन्द कुमार श्रेष्ठलाई अघि सारेका छौं। पदाधिकारीमै रामेछापबाट केही आकांक्षी हुनुहुन्छ। अन्य आकांक्षीलाई पनि मिलाएर लैजाने तयारी हुँदै छ। म जिल्लाको नेतृत्व गरिरहेको मान्छे जिल्लाबाट नै पार्र्टीलाई योगदान गर्न सकिन्छ। त्यसैले अहिले म जिल्लाकै नेतृत्व सम्हाल्छु।’

एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले पनि जिल्लाका अन्य नेतालाई अघि लगाएर आफू महाधिवेशन सफल बनाउन ध्यान दिने बताए। जिल्ला अध्यक्षमै रहेर महाधिवेशन सफल बनाउने तयारी आफ्नो रहेको श्रेष्ठले बताए।

यता, एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेलले पनि पार्टीमा जिल्लाको नेतृत्व पहिलो पटक पाएकोले अहिले बीचमै छोडेर केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने योजना नरहेको बताए। महाधिवेशनमा चुनाव हुने परिस्थिती बनेपनि आफ्नो उम्मेदवारी नरहने बताउँदै उनले भने, ‘कुनै तयारी छैन। केन्द्रमा जाने आकांक्षा पनि छैन। महमधिवेशन प्रतिनिधि बनेको छु। महाधिवेशन सफल बनाउनेमा केन्द्रित हुन्छु।’

प्रतिक्रिया