तेस्रो चैनपुर जेसीज मनहरी कपको उपाधी मकवानपुरगढी जेसीजलाई

पालिका डायरी
१ कार्तिक २०८२, २०:२३

हेटौंडा /  तेस्रो संस्करणको चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको उपाधि मकवानपुरगढी जेसीजले जितेको छ ।

शनिबार भएको फाइनल भिडन्तमा चितवनको पटिहानी इभेन्ट्सलाई २-० ले हराउँदै मकवानपुरगढी जेसीजले लगातार दोस्रो वर्ष पनि उपाधी जितेको हो ।

मकवानपुरगढी जेसीज दोस्रो संस्करणको विजेता समेत हो । जेसीजका लागि दशौं मिनेटमा गौरव महर्जनले फ्रीकिक मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा समीप ढकालले अग्रता दोब्बर बनाए । बाँकी समय गोल हुन नसकेपछि जेसीजले २-० को जित पक्का गरेको हो ।

मकवानपुरगढी जेसीजले कमाने फुटबल एकेडेमीलाई र पटिहानी इभेन्ट्सले गुरुशिष्य पाठशालालाई हराउँदै उपाधी भिडन्त पक्का गरेको थियो । प्रतियोगिताको विजेता मकवानपुरगढी जेसीजले एकलाख एक हजार १११ रुपैयाँ प्राप्त गर्दा पटिहानी इभेन्ट्सले ५१ हजार १५१ रुपैयाँमा चित्त बुझाउन बाध्य भएको छ ।

फाइनल खेलको म्यान अफ द म्याच जेसीजका मकवानपुरगढी जेसीजका समीप ढकाल भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पटिहानी इभेन्ट्सका रोशन दोङ घोषित हुँदा उत्कृष्ट गोलरक्षक मकवानपुरगढी जेसीजका अस्रफ शेख, डिफेन्स जेसीजकै कुमार लामा, मिडफिल्डर पटिहानीका सामुयल सुनार, फरवार्ड जेसीजका गणेश हमाल, प्रशिक्षक जेसीजकै भरतमोहन देवकोटा र सर्वाधिक गोलकर्ता गुरुशिष्य पाठशालाका अभिषेक भोलन घोषित भए ।

सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्दा बाँकी विधागत उत्कृष्ट खेलाडीले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । विजेता, उपविजेता तथा विधागत उत्कृष्टलाई कार्यक्रमका प्रमुख अतिथि मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगर, जेसीजका अध्यक्ष कृष्णप्रसाद ढकाल, मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापालगायतले नगद, ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरेका हुन् ।

फुटबल प्रतियोगिता संयोजक मनोज विष्टको संयोजकत्वमा भएको कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी, ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, ५ नम्बर अध्यक्ष दीपेन्द्र अधिकारी, १ नम्बर वडा अध्यक्ष शिवप्रसाद खनाल, नेपाल जेसीजका महासचिव विकेशलाल श्रेष्ठ, निरुपित राष्ट्रिय उपाध्यक्ष सुजन थापा काजी, पर्साखैरहनी जेसीजका अध्यक्ष विक्रम पन्जियार, सानकिसान कृषि सहकारी संस्था हाँडीखोलाका अध्यक्ष गीता प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
,,,

प्रतिक्रिया