हेटौंडा / मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले तिहार तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम फाउन्डेसनका जिल्ला अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा नेकपा एमाले नेता डोरमणी पौडेल रहेका थिए।
चियापान कार्यक्रममा नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका उपाध्यक्ष एवं भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदन लामा, हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देल, १० नं. वडा अध्यक्ष फुर्वा दोर्जे लामा, ११ नं. वडा अध्यक्ष जुना दाहाल, प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, गोपा बहादुर श्रेष्ठ, सुमित्रा काफ्ले, अधिवक्ता मदन दाहाललगायत समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
कार्यक्रममा सभाध्यक्ष रघुनाथ खुलालले शुभकामना मन्तव्य राख्दै फाउन्डेसनको उद्देश्य स्पष्ट पारे। उनले समाजका हरेक वर्ग र समुदायसँग घनिष्ठ सम्बन्ध स्थापना गर्दै स्व. मदन भण्डारीको विचार र मार्गदर्शनलाई व्यवहारमा रूपान्तरण गर्नु फाउन्डेसनको प्रमुख लक्ष्य रहेको बताए। उनले शुभकामना कार्यक्रमलाई छोटो देउसी–भैलो कार्यक्रमसँगै आयोजना गरिएको पनि जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि डोरमणी पौडेलले फाउन्डेसनले समाजमा सकारात्मक सोच र एकताको सन्देश फैलाइरहेको बताउँदै स्व. मदन भण्डारीको विचार आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे। उनले हाल देश जटिल परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै धैर्य, एकता र विवेकपूर्वक ढङ्गबाट अघि बढ्न सबैलाई आग्रह गरे।
मन्तव्यकै क्रममा उनले हालै भदौ २३ र २४ गते घटेको जेन्जी घटनाबारे पनि आफ्नो छोटो विचार व्यक्त गर्दै २३ गतेको घटनामा वास्तविक जेन्जीले परिवर्तनका लागि आवाज उठाउँदा सहिद भएका जेन्जीहरू प्रती दुख प्रकट गरे। यस्तै, उनले २४ गतेको घटना ठूला योजनाका साथ गरिएको दाबी गरे। पौडेलले घटनाको लगत्तै नेतृत्वमाथि आरोप लगाउने प्रवृत्ति गलत भएको जनाउँदै संकटको समयमा भाग्ने होइन, सत्यका पक्षमा अडिग हुनुपर्नेमा जोड दिए।
उनले थपे — “२४ गतेको घटनामा एमालेका कार्यकर्ता र कार्यालयमाथि मात्र नियोजित रूपमा आक्रमण भयो। ‘फ्री तिब्बत’को नाममा देशभित्रकै व्यक्तिको निजी सम्पत्ति र सरकारी संरचनामाथि क्षति पुर्याइयो। यस्तो कार्यप्रति सबै जिम्मेवार निकायहरू गम्भीर हुनुपर्छ।”
कार्यक्रममा सहभागी वक्ताहरूले फाउन्डेसनले समाजमा सहकार्य, एकता र सकारात्मक विचार प्रवाह गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रम निरन्तर गर्न सुझाव दिएका थिए।
कार्यक्रम अन्त्यमा सहभागीहरूबीच शुभकामना आदानप्रदानसँगै सामूहिक चियापान गरी कार्यक्रम समापन गरिएको थियो। कार्यक्रमको सञ्चालन मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरकी सह–सचिव चन्दावती पनेरुले गरेकी थिइन्।

