बाढीले क्षतिग्रस्त मान्डु जलविद्युत् पुनः २२ मेगावाटमा सञ्चालन
हेटौंड / गत वर्ष असोज ११ र १२ गते आएको भीषण बाढीले क्षतिग्रस्त बनाएको २२ मेगावाट क्षमताको मान्डु जलविद्युत् आयोजना पुनः पूर्ण क्षमतामा सञ्चालनमा आएको छ। पुनर्निर्माण तथा मर्मतको लामो प्रक्रियापछि आयोजनाले बिहीबारदेखि २२ मेगावाटकै विद्युत् उत्पादन थाल्दै राष्ट्रिय प्रसारण लाइनमा आपूर्ति सुरु गरेको हो।
मान्डु हाइड्रोपावरले पुनर्निर्माण पूरा नगरी गत साउन १९ गतेदेखि ५० प्रतिशत विद्युत् उत्पादन सुरु गरेको थियो। त्यसपश्चात पहिलो चरणमा ११ मेगावाट मात्रै सञ्चालनमा ल्याइएको भए पनि अब भने सम्पूर्ण संरचना सुचारु भएसँगै पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको वरिष्ठ प्राविधिक मनोज सिंहले जानकारी दिए।
बाढीले ठूलो क्षति
गत वर्ष आएको बाढीले मकवानपुरस्थित भीमफेदी गाउँपालिका–८ बागमती दोभानमा रहेको आयोजनाको हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप, बाँध र प्रसारण टावर बाढी र पहिरोले क्षतिग्रस्त बनाएको थियो।
सिस्नेरी बजारदेखि आयोजनास्थल पुग्ने सडकसमेत बाढीले बगाएको कारण यातायात अवरुद्ध बनेको थियो। आयोजनाले सडक मर्मतसम्भार गर्दै पुनः बाटो खोलेपछि मात्रै पुनर्निर्माण कार्य अघि बढाइएको सिंहले बताए। पुनर्निर्माणमा दिनको ६० भन्दा बढी प्राविधिक तथा मजदुर परिचालन गरिएको आयोजनाले जानकारी दियो।
लगानी र निर्माणको यात्रा
मान्डु हाइड्रोपावर कम्पनी प्रालि र चीनको सिइच्वाङ हेइच्वाङ कम्पनीको संयुक्त लगानीमा करिब ४ अर्ब रुपैयाँ लागतमा बागमती साना जलविद्युत् आयोजना २०७२ जेठदेखि निर्माण सुरु भएको थियो। २०७५ चैत १९ गते आयोजनाको औपचारिक उद्घाटन गर्दै २२ मेगावाट क्षमतामा विद्युत् उत्पादन सुरु गरिएको थियो।
आयोजनाको बाँध बागमती र कोगटे खोलाको संगमस्थल, इपा–पञ्चकन्या दोभानमा निर्माण गरिएको छ। करिब १० देखि १३ मिटर उचाइको बाँधमार्फत पानी संकलन गरी २,४४० मिटर लामो सुरुङमार्ग हुँदै इपा–पञ्चकन्याको बगरबेंसीस्थित पावरहाउसमा पुर्याएर विद्युत् उत्पादन गरिएको छ।
तर गत वर्षको बाढीले ५५ मिटर लामो बाँधलाई समेत क्षति पुर्याएको थियो। बाँध हुँदै प्रतिसेकेन्ड १२.४ क्युसेक पानी सुरुङमार्फत पावरहाउसमा पठाइने व्यवस्था छ।
विद्युत् बिक्री सम्झौता
मान्डु हाइड्रोपावरले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गर्दै आएको छ। सम्झौतानुसार बर्खायाममा प्रतियुनिट ४ रुपैयाँ ४० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा विद्युत् बिक्री गरिन्छ।
आयोजनाबाट उत्पादित विद्युत् कुलेखानी प्रथम जलविद्युत् आयोजनाको सबस्टेसनसम्म पुर्याउन १३.५ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत पठाइएको छ। यस क्रममा ४२ वटा प्रसारण टावर निर्माण गरिएकोमा दुईवटा टावरलाई बाढीले क्षति पुर्याएको थियो। ती टावरको समेत मर्मत सकिएपछि आयोजनाले पुनः नियमित रूपमा बिजुली आपूर्ति सुरु गरेको हो।
पुनर्निर्माणमा देखाएको प्रतिबद्धता
मान्डु हाइड्रोपावरका प्रमुख सञ्चालक सुन्दर श्रेष्ठका अनुसार, “बाढीले क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न धेरै चुनौती भए पनि प्राविधिक र कामदारको अथक परिश्रमका कारण छोटो समयमै आयोजना पुनः सञ्चालनमा ल्याउन सफल भएका छौं।”
उनले निजी क्षेत्र र विदेशी लगानीको सहकार्यमा बनेको आयोजना बाढी जस्ता प्राकृतिक विपत्तिबाट प्रभावित भए पनि पुनःस्थापना गरेर राष्ट्रिय विद्युत् आपूर्तिमा योगदान दिन सक्नु गौरवको विषय भएको बताए।
ऊर्जा सुरक्षामा टेवा
२२ मेगावाट क्षमताको मान्डु हाइड्रोपावर पुनः सञ्चालनमा आएपछि बागमती प्रदेशको विद्युत् आपूर्तिमा थप सहजता आउने विश्वास गरिएको छ। जलविद्युत्मा निजी क्षेत्रको लगानी र जोखिम सहन सक्ने क्षमता देखिएको यो आयोजनाले ऊर्जा सुरक्षामा उल्लेखनीय योगदान दिने अपेक्षा गरिएको छ।

