मकवानपुरमा लागूऔषधसहित एकैदिनमा ६ जना पक्राउ
Ai photo
हेटौंडा / मकवानपुर प्रहरीले विहिबार एकैदिन लागूऔषधसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।
विहिबार (हिजो) दिउँसो २ बजेकाे समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा पूर्व–पश्चिम राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना ६ ख ९५३३ नम्बरको यात्रुबाहक बसमा सवार दुई नाबालकको झोलाभित्र लुकाएर ल्याइएको ९ किलो २०० ग्राम गाँजा बरामद गरेको हो। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
त्यस्तै, हिजो दिउँसो १२:४५ बजेकाे समयमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडाबाट २४ वर्षीय दिलबहादुर सार्की र २४ वर्षीय कुमार लो को साथबाट चप्पल भित्र स्टिलको बाकस बनाई लुकाइ राखिएको अवस्थामा ६ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन फेला पारेको थियो। उनीहरूलाई समेत नियन्त्रणमा लिई म्याद अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, साउन २२ गतेनै दिउँसो १२:०५ बजे, हेटौंडा उपमहानगरपालिका–१० सिमाचोकस्थित फेमस तास हाउस होटल अगाडि पार्किङमा ना २३ प ६८३७ नम्बरको मोटरसाइकलमा बसेका ३० वर्षीय विशाल पौडेल र २९ वर्षीय पाल्डुव लामाको साथबाट ONEREX-100ML को १५ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ। निजहरुलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको ।
प्रहरीका अनुसार पक्राउ परेकामाथि लागूऔषध नियन्त्रण ऐनअनुसार मुद्दा दर्ता गरी आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएकाे छ ।


