पनौतीको त्रिवेणीघाट संरक्षणका लागि विद्यार्थीको पहल
हेटौंडा / प्राचीन संस्कृति र ऐतिहासिक सम्पदाले भरिपूर्ण पनौतीको मुटुमा अवस्थित त्रिवेणीघाट क्षेत्रको संरक्षणका लागि आज एक महत्वपूर्ण कदम अगाडि बढाइएको छ।
काठमाडौं विश्वविद्यालयका आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले त्रिवेणीघाट क्षेत्रको सांस्कृतिक सम्पदाको विस्तृत नक्साङ्कन तथा संरक्षणका सम्भावित प्रस्तावहरू तयार पारी पनौती नगरपालिकाका प्रमुख र उपप्रमुखलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका २६ जना विद्यार्थीको टोलिले करीब ५ महिनाको अध्ययन, नापजाँच र सम्पदाको अध्ययनपछि तयार पारिएको प्रतिवेदनको चित्रसहित पनौतीको लायकु स्थानमा प्रदर्शनी गरिएको थियो ।’त्रिवेणीघाट संरक्षण सम्बन्धी प्रदर्शनी’ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पुर्वमन्त्री एका लाल श्रेष्ठले आर्किटेक्ट अध्ययनरत विद्यार्थीहरूको अथक मेहनत कार्यले पनौतीको समृद्ध इतिहासलाई संरक्षण गर्न मद्दत पुर्याउने बताए । यस प्रतिवेदनले पनौतीको यस क्षेत्रलाई विश्व सम्पदा सुचिमा समावेश गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विद्यार्थीहरूको टोलीले तयार पारेको प्रतिवेदनमा त्रिवेणीघाट क्षेत्रका मूख्य सम्पदाहरू – जस्तै ऐतिहासिक मन्दिरहरू, पुराना धारा–पाटी, प्राचीन वस्ती संरचना, घाट तथा धार्मिक आयोजनाका स्थानहरूको नक्साङ्कन गरिएको छ। साथसाथै, संरक्षणका लागि उपयुक्त निर्माण प्रविधि, हरित संरचना, संवेदनशील पुनःस्थापना उपाय, सामुदायिक सहभागिता तथा दीर्घकालीन व्यवस्थापन रणनीतिहरूसमेत समेटिएको आर्किटेक्चर संकायका स्नातक तह चौथो वर्षका विद्यार्थी अंकित श्रेष्ठले बताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रामशरण भण्डारीले विद्यार्थीहरूबाट प्राप्त प्रस्तावलाई गम्भीरतापूर्वक लिइने र आगामी नगर योजना तथा बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । त्रिवेणीघाटको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व स्मरण गर्दै यस किसिमको प्राविधिक अध्ययनले संरक्षण अभियानलाई दिशा दिने विश्वास व्यक्त गरेका छन् ।



