सिन्धुलीमा पहिरोले रुख ढल्दा दुई जनाको मृत्यु, तीन घाइते
हेटौंडा / सिन्धुलिको हरिहरपुरगढी गाउँपालिका–१ बस्तिपुरमा हिजो (शुक्रबार) अपराह्नको बर्षासँगै आएको पहिरोले सालको रुख ढल्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जित बहादुर थिङको काठले बनेको अस्थायी छाप्रोमा पानी परेका बेला ओत लाग्न बसेका स्थानीयहरु रुखले थिचिएर घटनामा परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ। वर्षासँगै सामान्य पहिरो आएपछि सालको रुख ढलेर छाप्रोमाथि खस्दा गोठालो गएका मानिसहरू च्यापिएको थिए।
घटनामा परी हरिहरपुरगढी गाउँपालिका–१ बस्तिपुर बस्ने मान बहादुर थिङका छोरा करिब ९ वर्षीय सार्की थिङ र गुनलाल गोलेका १६ वर्षीय छोरा सन्ता गोलेको मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ। दुवै जनाको शव मुचुल्का तयार गरी पोष्टमार्टमका लागि कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जनाईएको छ।
साथै दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्। घाइतेहरूमध्ये मान ब. थिङकी १४ वर्षीया छोरी सृजना माया थिङ र आकाश भोलनकी १५ वर्षीया छोरी सन्ध्या भोलनको अवस्था मध्यम रहेको र उनीहरूको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै बुद्ध थिङका ७ वर्षीय छोरा शुसिल थिङलाई स्थानीयले उद्धार गरी पाँचपाण्डव प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ। उनको अवस्था सामान्य रहेको छ। घटनास्थलमा प्रहरी र स्थानीयको सक्रियतामा तत्काल उद्धार कार्य गरिएको थियो।

