हेटौंडा / राष्ट्रिय युवा संघ नेपाल भीमफेदीले मृगौला पीडित एक बिरामीको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। संघले भीमफेदी गाउँपालिका वडा नम्बर २ की कुमारी आलेको मृगौला प्रत्यारोपण उपचारमा सहयोग पुर्याउने उद्देश्यले रु २० हजार ५०० रुपैयाँ हस्तान्तरण गरेको हो।
राष्ट्रिय युवा संघ नेपाल भीमफेदीका अध्यक्ष बादल सिलवालको नेतृत्वमा सङ्कलित सहयोग रकम आज बिरामीको देवरलाई प्रदान गरिएको अध्यक्ष सिलवालले बताए। सिलवालले मानव सेवाभन्दा ठूलो धर्म केही नभएको उल्लेख गर्दै यस्ता अप्ठ्यारा परिस्थितिमा परेकालाई सधैं साथ दिने प्रतिवद्धता जनाए।
उनले समाजमा संकटमा परेकाहरुको साथ दिने अभियान अन्तर्गत यो सहयोग गरिएको जानकारी दिए। युवा संघले दिएको आर्थिक सहयोग ग्रहण गर्दै मृगौला पीडितका परिवारले राष्ट्रिय युवा संघप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले उपचारमा राहत पुगेको प्रतिक्रिया दिएका छन् ।

