रानाद्वारा सामाज परिवर्तनका लागि लाग्न कार्यकर्तालाई निर्देशन

राम कुमार दानी
१० श्रावण २०८२, २१:५९

हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (एमाले) भीमफेदी गाउँपालिका कमिटीको आयोजनामा पार्टी प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम आज भीमफेदीमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै “नेपाली समाज बुझेर, भीमफेदीको परिवर्तनमा लाग्न” निर्देशन दिए। उनले नवप्रवेशीहरूलाई “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्यमा समर्पित भएर ग्रास लेवलदेखी काम गर्न आग्रह गरे। उनले शान्तिपूर्ण बाटोबाट जनताको आर्थिक परिवर्तन सम्भव हुने उल्लेख गर्दै, नेकपा (एमाले) मेहनती जनताको पार्टी भएको बताए।

त्यसैगरी, मकवानपुर जिल्ला क्षेत्र नं. २ का सांसद तथा नेपाल सरकारका प्रमुख सचेतक महेश बर्तौलाले संघीय गणतन्त्रको कार्यान्वयनपछि सिंह दरवारदेखी अधिकार वडासम्म पुगेको बताएका छन्। उनले अराजकतावादले जनतालाई भ्रममा पार्ने प्रयास गरिरहेको भन्दै सचेत रहन आग्रह गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गर्दै उनले रास्वपाले भविष्य अन्धकार बनाउँदै वर्तमान मात्र सोच्ने प्रवृत्ति देखाएको आरोप लगाए। बर्तौलाले रवि लामिछाने ठगी गरेर जेल गएको बताएका छन् र त्यसमा सरकारको भूमिका नभएको स्पष्ट पारे।

कार्यक्रममा डेढ दर्जनभन्दा बढी विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।

कार्यक्रम नेकपा (एमाले) भीमफेदी गाउँपालिका कमिटीका अध्यक्ष सिताराम थापाको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर राना प्रमुख अतिथिका रूपमा उपस्थित थिए। साथै बागमती प्रदेश कमिटी सदस्य भगवती पुडासैनी, प्रदेश सल्लाहकार कमिटी सदस्य ठाकुराम खड्का, मकवानपुर जिल्ला कमिटी उपाध्यक्ष तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया