हेटौंडामा आठौं संस्करणको कोरा साईकल र्‍याली हुँदै

पालिका डायरी
१ श्रावण २०८२, १८:२६

मकवानपुरको हेटौंडामा आठौं संस्करणको कोरा साईकल र्‍याली आयोजना हुने भएको छ ।

सन् २०१८ देखि निरन्तर साईकल महोत्सव गर्दै आएको हेटौंडा राइडर्स क्लबले आगामी शनिबार साईकल र्‍याली गर्ने भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

‘दिस इज नट अ रेस, एभ्रीवन इज अ उइनर’ भन्ने नाराका साथ गरिने साईकल र्‍यालीले स्वच्छ वातावारणमा जोड दिनुका साथै हेटौंडालाई साईकलसँग जोड्ने विश्वासका साथ उक्त कार्यक्रमलाई निरन्तरता दिइएको राइडर्स क्लबका अध्यक्ष विकाश ताम्राकारले जानकारी दिए ।

५० किलो मिटरको यात्रामा हुने र्‍यालीमा १२ वर्ष उमेर माथिका जोसुकै साईकल प्रेमीहरुले सहभागिता जनाउन सक्ने अध्यक्ष ताम्राकारले बताए । र्‍यालीमा मकवानपुर लगायत आसपासका जिल्लाहरु चितवन, बारा, पर्सा लगायत काठमाडौंबाट समेत गरी करिब ३ सय भन्दा बढी राइडर सहभागी हुने अनुमान रहेको उनले बताए । हालसम्म २ सय ५० जनाले नाम दर्ता गराएका छन् भने कार्यक्रममा सहभागी हुनेलाई निःशुल्क जर्सीको व्यवस्था रहेको छ ।

विहान ७ बजे सुरु हुने र्‍याली हेटौंडाको प्रमुख धार्मिक स्थल पशुपति मन्दिरबाट सुरु भई विभिन्न धार्मिक स्थलहरुको परिक्रमा गरी शिवम् सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, महेन्द्र राजमार्ग, त्रिवेणी धाम, कर्रा, लगायतका स्थानहरु हुँदै बुद्धचोकमा आएर समापन हुने आयोजकले जनाएको छ ।

र्‍याली मा सहभागी हुन इच्छुकले तीन सय रुपैँयाको फारम भरी नाम दर्ता गर्न सक्नेछन् । साईकल प्रेमी उत्पादन गरी स्वच्छ वातावरण निर्माण अभियानमा जुटेको हेटौंडा राइडर्स क्लबमा हाल पाँच सय जना सदस्य आवद्ध रहेका छन् । क्लबका अनुसार मकवानपुर जिल्लामा ६ हजार साईकल राइडर रहेका छन् ।

कार्यक्रम सम्पन्न गर्न पाँच लाख रुपैँया खर्च आउने अनुमान रहेको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया